ट्रकको ठक्करबाट साइकलयात्री महिलाको मृत्यू

शुक्रवार , भाद्र ५, २०८३

कपिलबस्तु,५ भदौ – कपिलवस्तुमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा पर्ने हुलाकी सडकखण्डमा भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका–२ बर्गदवा निवासी अन्दाजी २२ वर्षीया निशा गद्दीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकल चलाएर गइरहेकी गद्दीलाई ठक्कर दिएको थियो । ट्रक मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएका थिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी गद्दीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । वडा प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी अस्पताल पु¥याएको हो । अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृतक गद्दीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न तथा सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

हुलाकी सडकखण्डमा भएको उक्त दुर्घटनाले सडक सुरक्षाको विषयलाई पुनः गम्भीर रूपमा उठाएको छ । तीव्र गति, असावधानी र सवारी सञ्चालनमा हुने लापरबाहीका कारण हुने दुर्घटना न्यूनीकरणका लागि चालक तथा पैदलयात्री, साइकलयात्री र अन्य सडक प्रयोगकर्ताबीच थप सचेतना आवश्यक देखिएको छ ।

प्रतिक्रिया