धादिङ,०४ मंसिर — धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
प्राप्त विवरणअनुसार शुक्रबार राति करिब १ः५५ बजे रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हाधाङि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा सोही स्थानकी ३५ वर्षीया कान्छी माया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय बिमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ छन् ।
त्यसैगरी खनियाबास गाउँपालिका–१ धादिङका ४० वर्षीय बोलेरो चालक डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ गौशालाका २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।
घाइतेमध्ये आमोष तामाङलाई भित्री चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ । मिजोङ तामाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । चालक डम्बर तामाङलाई पनि भित्री चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ । उनीहरू तीनै जनाको अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेमध्ये कान्छी माया तामाङ र पिटर तामाङको अवस्था मध्यम छ । कमल घले र बिमल तामाङको बायाँ खुट्टामा चोट लागेको छ भने चेरोङ तामाङको टाउकोमा चोट लागेको छ । ललित बोम्जनलाई पनि भित्री चोट लागेको जनाइएको छ । उनीहरू सबैको अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि स्वास्थ्य चौकी बोराङ पठाइएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।