शुक्रवार, मंसिर ४ गते २०८३

Friday 20th November 2026

ईभीको ठक्करबाट सिन्धुलीका वाइबाको मृत्यु, श्रीमती घाइते

बिहिवार , मंसिर ३, २०८३


हेटौँडा,०३ मंसिर–  बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चार नम्बर पुलमा ईभी भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी श्रीमती घाइते भएकी छन् ।

पूर्व–पश्चिम राजमार्गमा बिहीबार भएको दुर्घटनामा वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभी भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी ६० वर्षीय निरबहादुर वाइबाको मृत्यु भएको हो । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका वाइबालाई तत्काल उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पु¥याइएको थियो । अस्पतालमा ईसीजी परीक्षण गरेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार वाइबाकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङ घाइते भएकी छन् । उनको टाउको, हात, खुट्टा तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तामाङको मकवानपुरस्थित हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ईभी भ्यानका चालक झापाको बिर्तामोड नगरपालिका–५, पाथीभरा निवासी ५० वर्षीय रमेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया