सिन्धुली,०१ मंसिर — मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, तिनकुनामा क्रेटा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।
सोमवार दिउँसो १ः५० बजे सिन्धुलीबाट चितवनतर्फ जाँदै गरेको बा १८ च ७७४१ नम्बरको क्रेटा कार अनियन्त्रित भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर दुर्घटनामा परेको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले मंगलवार जनँएको छ । कार चितवनको रत्ननगर नगरपालिका–३, टाँडी निवासी अन्दाजी ५२/५३ वर्षीय पुरुषोत्तम रिजालले चलाएका थिए ।
दुर्घटनामा चालक रिजाल र उनकी श्रीमती लन्दाजी ४४/४५ वर्षीया निशम रिजाल घाइते भएका थिए । चालक पुरुषोत्तमको दाहिने खुट्टा र टाउकोमा चोट लागेको थियो । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै घाइतेलाई प्रारम्भमा मकवानपुरको झुरझुरेस्थित सान्भी हेल्थ पोलिक्लिनिकमा उपचारका लागि पठाइएको थियो । थप उपचारका लागि दिउँसो ३ः२५ बजे पुरुषोत्तमलाई र ४ः४४ बजे उनकी श्रीमती निशमलाई भरतपुरतर्फ लगिएको थियो ।
उनीहरू साँझ ६ः१० बजे चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) पुगेका थिए । उपचारकै क्रममा चिकित्सकले साँझ ६ः२० बजे निशम रिजाललाई मृत घोषणा गरेका थिए । उनको शव सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परेको कार घटनास्थलमै रहेको छ । ठक्करका कारण गाडीको अगाडिको भाग र दाहिने साइड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनाबारे थप अनुसन्धान भई रहोको प्रहरीले जनाएको छ ।