सिन्धुली,०२ मंसिर — कमलामाई नगरपालिकाको आगामी स्थानीय निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ । लामो समयदेखि नेपाली काँग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको कमलामाईमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि चुनौतीपूर्ण शक्तिका रूपमा उदाउन सक्ने आकलन हुन थालेको छ ।
यसपटकको राजनीतिक बहस पार्टीगत प्रतिस्पर्धामा मात्रै सीमित छैन । मेयरका सम्भावित उम्मेदवार को हुने र कमलामाईको विकासका लागि कस्तो नेतृत्व आवश्यक छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।
रास्वपाभित्र आकाँक्षीका रूपमा विभिन्न नामको चर्चा
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कमलामाईको मेयर पदका लागि युवा इन्जिनियर रोशन लामा, रास्वपा सिन्धुलीका जिल्ला सभापति अभिनाश बस्नेत, डा.देवेन्द्र अधिकारी, डा.विमल थापा, उज्ज्वल विक्रम थापा र हरि कार्कीलगायतका नाम चर्चामा छन् ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका अभिनाश बस्नेतलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । रास्वपा सिन्धुलीका जिल्ला सभापतिसमेत रहेका बस्नेतले जिल्लामा पार्टीको संगठन विस्तार र नेतृत्वदायी भूमिकामा निरन्तर काम गर्दै आएका छन् । संगठन निर्माणमा संलग्नता, पार्टीभित्रको जिम्मेवारी तथा राजनीतिक अनुभव उनका सम्भावित उम्मेदवारीका आधारका रूपमा चर्चा गरिएका छन् । जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभवले उनलाई पार्टीको संस्थागत संरचनासँग जोडिएको सम्भावित विकल्पका रूपमा उभ्याएको देखिन्छ ।
यता, इन्जिनियरिङ पृष्ठभूमिका रोशन लामाको नाम पनि नगर प्रमुख पदका लागि चर्चामा आउन थालेको छ। उनी हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । पार्टी राजनीतिमा नयाँ भए पनि युवापुस्तामाझ उनको राम्रो लोकप्रियता र आकर्षण रहेको बताइन्छ । प्राविधिक शैक्षिक पृष्ठभूमि, नयाँ पुस्तासँगको सम्बन्ध र युवाहरूको सहभागिता आकर्षित गर्न सक्ने सम्भावनाका कारण लामालाई पनि सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
यसैगरी विभिन्न पेसागत तथा सामाजिक संस्थामा लामो समय काम गरेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्वको अनुभव हासिल गरेका देवेन्द्र अधिकारीको नाम पनि चर्चामा छ ।
यता दुई पटक सिभिल अस्पतालको कार्यकारी निर्देशको जिम्मेवारी सम्हालेका डाक्टर विमल थापाको सम्भावित उम्मेदवारीबारे पनि चासो व्यक्त भइरहेको छ । उता समाजसेवी उज्ज्वल विक्रम थापालाई समेत सम्भावित उम्मेदवारका रूपमा चर्चा गर्नेहरू छन् । पार्टीका प्रारम्भिक कार्यक्रमहरूमा उनको सहभागिता र रवि लामिछानेसँगको निकटतालाई यस चर्चासँग जोडेर हेरिएको छ । आखा अस्पतालमा कार्यरत हरि कार्कीको नाम पनि चर्चामा सुनिन्छ । यद्यपि, यी नामलाई औपचारिक उम्मेदवारीका रूपमा बुझ्न मिल्दैन । पार्टीको आधिकारिक निर्णय र उम्मेदवार छनोट प्रक्रिया नै निर्णायक हुनेछ ।
काँग्रेस र एमालेसामु विरासत जोगाउने चुनौती
नेपाली काँग्रेस कमलामाईमा आफ्नो परम्परागत राजनीतिक प्रभाव कायम राख्ने रणनीतिमा देखिन्छ । काँग्रेसनिकट व्यक्तिहरू नगरपालिकामा आफ्नो प्रभाव कायम रहने दाबी गर्छन् ।
नेकपा एमाले पनि आफ्नो संगठनात्मक आधारप्रति विश्वस्त देखिन्छ । सम्भावित चुनावी समीकरण र वामपन्थी दलबीचको सहकार्यले प्रतिस्पर्धाको स्वरूप बदल्न सक्ने एमालेनिकट नेताहरूको आकलन छ ।
उता रास्वपाका लागि नयाँ राजनीतिक आकर्षणलाई स्थानीय संगठन, उम्मेदवारको व्यक्तिगत प्रभाव र मतमा रूपान्तरण गर्नु मुख्य चुनौती हुनेछ ।
अबको चुनावमा निर्णायक के होला?
कमलामाईका केही वडामा काँग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा त्रिपक्षीय बन्न सक्ने स्थानीय राजनीतिक वृत्तको अनुमान छ । तर वडागत राजनीतिक प्रभाव र मतदाताको वास्तविक मनोविज्ञानबारे अहिले नै निष्कर्ष निकाल्नु हतार हुनेछ ।
उम्मेदवारको शैक्षिक योग्यता, पेसागत अनुभव, सामाजिक योगदान, राजनीतिक संगठन र जनतासँगको सम्बन्ध सबै महत्त्वपूर्ण पक्ष हुन् । तर कुनै एउटा पक्षले मात्र चुनाव जिताउने निश्चित हुँदैन ।
अन्ततः कमलामाईका मतदाताले पार्टीको पुरानो विरासत रोज्छन् कि नयाँ राजनीतिक विकल्पलाई अवसर दिन्छन् भन्ने कुरा आगामी निर्वाचनले तय गर्नेछ । किनकि कमलामाईलाई अब अर्को राजनीतिक अनुहार मात्रै होइन, स्पष्ट दृष्टिकोण, जवाफदेहिता र परिणाम दिन सक्ने नेतृत्व चाहिएको छ ।