सिन्धुली,०२ मंसिर– सवारीसाधन चोरीका दुई छुट्टाछुट्टै मुद्दामा अदालतबाट कैद र जरिवानाको सजाय पाएपछि फरार रहँदै आएका एक युवकलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका–७ निवासी २१ वर्षीय दले भनिने दिनेश लामा रहेका छन् ।
लामालाई स्कुटर चोरीसम्बन्धी मुद्दामा सिन्धुली जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । त्यसैगरी, मोटरसाइकल चोरीसम्बन्धी अर्को मुद्दामा अदालतले ५ महिना ५ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय निर्धारण गरेको थियो ।
दुवै मुद्दामा अदालतबाट सजाय तोकिएपछि पनि फैसला कार्यान्वयन हुन नसकी उनी फरार रहँदै आएका थिए । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सिन्धुली जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।