बिहिवार, मंसिर ३ गते २०८३

Thursday 19th November 2026

खुर्कोट विंगर दुर्घटना अपडेट : दुईको मृत्यु, १३ घाइते

बुधवार , मंसिर २, २०८३

सिन्धुली ,०२ मंसिर — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, आठ जनाको मध्यम र दुई जनाको सामान्य रहेको बागमति प्रदेश प्रहरी हेटौडाले बुधवार जनाएको छ ।

मंगलवार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको विङ्गर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको थियो । चालकसहित १५ जना सवार गाडी दुर्घटनामा सबै घाइते भएका थिए। घटनास्थल खुर्कोटस्थित इलाका प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ।

प्रहरीका अनुसार घाइतेमध्ये धनुषाको जनकनन्दिनी गाउँपालिका–२ का ४३ वर्षीय प्रमोदकुमार धामीलाई साँझ ६ः३० बजे बीएन्डबी अस्पताल काठमाडौंमा मृत घोषणा गरिएको थियो । त्यसैगरी, शहीदनगर नगरपालिका–७ की प्रियंका साहका तीन वर्षीय छोरा ओम साहको उपचारका क्रममा साँझ ७ः४६ बजे मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते धनुषाको जनकनन्दिनी–९ की ३५ वर्षीया सीतादेवी यादव, शहीदनगर–९ का १४ वर्षीय पियुष गोहित र शहीदनगर–७ का १५ वर्षीय प्रिन्स साहलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उनीहरूसँगै मध्यम घाइते श्यामकुमार मण्डल (३९) र दिपेन्द्र यादव (२३) पनि काठमाडौं पु¥याइएका थिए । हेलिकप्टरले साँझ ४ः४९ बजे सात घाइतेलाई काठमाडौं लैजान उडान भरेको थियो । उनीहरू साँझ ६ बजे बीएन्डबी अस्पताल पुगेका थिए । सात जनामध्ये धनुषा जनकनन्दिनी–२ का प्रमोदकुमार धामी पनि थिए ।

खुर्कोटमै उपचाररत चालक धनुषाको शहीदनगर–४ का ३६ वर्षीय दीपककुमार दासलाई निधारमा सामान्य चोट लागेको थियो । उनलाई राति ९ः५५ बजे थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो । अन्य घाइतेमा रानीकुमारी मण्डल (१७), प्रियङ्का साह (२६), जेनीशा साह (१६), सफलता साह (११) र रामदेव साह (६२) रहेका छन् । उनीहरूको अवस्था मध्यम छ । रामदेवको दुवै हात भाँचिएको छ । उनीहरू शुभजीवन अस्पताल खुर्कोटमा उपचाररत थिए। रामदेवलाई सुनकोशी सामुदायिक अस्पतालबाट साँझ ६ः३० बजे त्यहाँ सारिएको थियो ।

त्यस्तै, आयुष गोहित (१५) र रुबी गोहित (१२) लाई क्रमशः खुट्टा तथा अनुहारमा चोट र शरीरमा सामान्य चोट लागेको छ । उनीहरूलाई आफन्तले साँझ ५ः३० बजे आफ्नै गाडीमा काठमाडौंस्थित बीएन्डबी अस्पताल लगेका थिए। उनीहरू राति ११ः२० बजे अस्पताल पुगेका थिए ।

दुर्घटनामा मृत्यु भएका दुवै जनाको शव बीएन्डबी अस्पताल काठमाडौंमा रहेको छ । घाइतेमध्ये सात जनाको बीएन्डबी, पाँच जनाको शुभजीवन अस्पताल खुर्कोट र चालकको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको विवरण प्रहरीले दिएको छ ।

प्रतिक्रिया