सिन्धुली,१८ कात्तिक – गोलन्जोर गाउँपालिकाले आह्वान गरेका करिब ४ करोड रुपैयाँका पाँच निर्माण ठेक्काको मूल्यांकन तथा स्वीकृति प्रक्रियामा अनियमितता भएको आशंका उठेको छ । प्रतिस्पर्धामा सहभागी निर्माण व्यवसायीहरूले बोलपत्र खोल्दा कुल कबोल रकम उल्लेख नभएका प्रस्तावसमेत स्वीकृत गरिएको भन्दै कागजात हेरफेरको सम्भावनामाथि प्रश्न उठाएका छन् ।
गाउँपालिकाले धाराखोला सिँचाइ योजना विजयछाप, भक्तिराम हैबारगाउँ सडक स्तरोन्नति, वडा नम्बर १ मा सुक्खा पोखरी निर्माण, कालढुंगा हैबार नाकाजोली भक्तिराम सडक स्तरोन्नति र ग्वाल्टार भित्री सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । पाँच ठेक्कामा ११७ निर्माण व्यवसायी सहभागी थिए । ग्वाल्टार भित्री सडकमा सर्वाधिक ४२ र धाराखोला सिँचाइ योजनामा न्यूनतम ९ कम्पनीले प्रस्ताव पेस गरेका थिए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई–जीपी) करिब डेढ महिनादेखि अवरुद्ध भएपछि गाउँपालिकाले वर्तमान जनप्रतिनिधिको कार्यकालमा पहिलोपटक हार्डकपीमार्फत बोलपत्र आह्वान गरेको थियो । यही प्रक्रियामा पारदर्शितासम्बन्धी विवाद देखिएको हो ।
व्यवसायीहरूका अनुसार बोलपत्र खोल्दा केही कम्पनीले निर्माण कार्यका प्रत्येक आइटमको दररेट उल्लेख गरे पनि कुल कबोल रकम खुलाएका थिएनन् । उपस्थित व्यवसायीहरूले तत्काल रकम गणना गर्न वा दररेट उल्लेख भएका पानाको पछाडि हस्ताक्षर गराई प्रमाण सुरक्षित राख्न माग गरेका थिए । तर, प्राविधिक पक्षले उक्त प्रस्ताव कार्यान्वयन नगरेको उनीहरूको आरोप छ ।
विवादको केन्द्रमा रामेछापको मन्थली–१ स्थित तिनलाल कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्ट प्रालि परेको छ । पाँचमध्ये दुई बोलपत्र खरिद गरेको कम्पनीले दुवै ठेक्का प्राप्त गरेको छ । कम्पनीले कालढुंगा हैबार नाकाजोली भक्तिराम सडक ३२ लाख १६ हजार २४९ रुपैयाँ ५ पैसा र ग्वाल्टार भित्री सडक १ करोड २२ लाख ६३ हजार ८२१ रुपैयाँ ५२ पैसामा निर्माण गर्ने प्रस्ताव गरेको थियो ।
व्यवसायीहरूले अन्य तीन ठेक्का प्राप्त कम्पनीका प्रस्तावमा समेत सुरुमा कुल रकम उल्लेख नभएको दाबी गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनपछि मूल्य प्रतिस्पर्धाको व्यवस्था फेरिएको छ । पहिले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म घटाउनुपर्ने अवस्था रहेको बताउँदै उनीहरूले अहिले १० प्रतिशतभन्दा कम घटेरसमेत ठेक्का प्राप्त हुने र बीचको मूल्य कबोल गर्ने व्यवसायी छनोट हुने व्यवस्था रहेको दाबी गरेका छन् ।
गाउँपालिकामा सिभिल इन्जिनियर कार्यरत रहे पनि ठेक्कासम्बन्धी प्रक्रिया सबइन्जिनियर सुदीप हायुले सम्हालेका थिए । हायुले सबै काम नियमसम्मत भएको दाबी गर्दै दररेटका पानामा उपस्थित व्यवसायीहरूको हस्ताक्षर नगराइएको भने स्वीकार गरेका छन् ।
अन्य सरकारी निकायले हार्डकपी बोलपत्र खोल्दा दररेटमा हस्ताक्षर गराई मुचुल्का तयार गर्ने अभ्यास रहेको व्यवसायीहरू बताउँछन् । यस्तो प्रक्रिया नअपनाउने निकायमाथिसमेत मिलेमतोको आरोप उठेको छ ।
यसैबीच, नेपाली काँग्रेस गोलन्जोर गाउँपालिका कार्यसमितिले ठेक्कामा मिलेमतो भएको आरोपसहित गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । यद्यपि, बोलपत्रका कागजात परिवर्तन गरिएको पुष्टि भएको छैन । वास्तविकता स्पष्ट गर्न मूल प्रस्ताव, बोलपत्र खोल्दाको मुचुल्का र मूल्यांकन अभिलेखको निष्पक्ष परीक्षण आवश्यक देखिएको छ । स्रोत: सिन्धुली मंसिर चार