शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

युवा आवाज बोकेर समीर विक्रम थापा काँग्रेस महाधिवेशनको मैदानमा

शुक्रवार , आश्विन ९, २०८३

सिन्धुली,०९ असोज – नेपाली काँग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. २ बाट युवा तर्फ संघीय महाधिवेशन प्रतिनिधि पदका लागि समीर विक्रम थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

थापाले आफ्नो उम्मेदवारी युवा पुस्ताको सहभागिता, पार्टीभित्र नयाँ पुस्ताको आवाजलाई स्थान दिने उद्देश्यसहित अघि सारेको बताएका छन् । उनले विशेषगरी जेन्जी पुस्ताका चासो, अपेक्षा र विचारलाई नेपाली काँग्रेसको नीति, संगठन र नेतृत्व तहमा समेट्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

नेपाली काँग्रेसले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र जनउत्तरदायी शासन व्यवस्थालाई आफ्नो मूल राजनीतिक आधारका रूपमा अघि सार्दै आएको छ । यही सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै पार्टी संगठनलाई समयअनुकूल बनाउने विषयमा आफू केन्द्रित रहेको थापाको भनाइ छ ।

उनले युवाको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र पुस्तान्तरणको आवश्यकतालाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् ।

महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिहरूले विभिन्न उम्मेदवारमध्येबाट प्रतिनिधि चयन गर्नेछन् । सिन्धुली क्षेत्र नं. २ मा हुने प्रतिस्पर्धामा विभिन्न उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा र प्राथमिकता प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया