शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ब्राउनसुगरसहित तीन जना पक्राउ

शनिवार , भाद्र ६, २०८३

भद्रपुर (झापा) ६ भदौ – झापाको सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा लागुऔषध ब्राउनसुगर र नाइट्रोजन ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार रातिदेखि आज बिहानसम्म छुट्टाछुट्टै स्थानमा गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

शुक्रबार राति झापा गाउँपालिका–४ स्थित चर्तागाछी नाकाबाट भारततर्फबाट पैदल नेपाल प्रवेश गर्दै गरेका शिवसताक्षी नगरपालिका–९ निवासी १७ वर्षीय गौरव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चौधरीको शरीर तथा साथमा राखिएको सामग्री जाँच गर्दा प्लास्टिकसहित सात ग्राम १० मिलीग्राम ब्राउनसुगर फेला परेको थियो । त्यसैगरी, उनको साथबाट नाइट्रोजन ट्याब्लेट १८ थानसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।

यसैबीच, आज बिहान भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिवसताक्षी नगरपालिका–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई टाघनडुब्बा स्कुल टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बास्के र मर्डीको साथबाट प्लास्टिकसहित एक ग्राम ७५ मिलीग्राम ब्राउनसुगर बरामद भएको छ । सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार तथा सेवन नियन्त्रण गर्न प्रहरीले निगरानी र जाँच अभियानलाई थप कडाइ गर्दै आएको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बरामद सामग्रीको परीक्षण, पक्राउ परेका व्यक्तिहरूको बयान तथा सम्भावित सञ्जालबारे समेत अनुसन्धान अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया