मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

भरुवा बन्दुक बनाइ बिक्री गरेको आरोपमा एक जना पक्राउ

बिहिवार , आश्विन २२, २०८३


मोरङ,२२ असोज — मोरङको लेटाङ नगरपालिकामा घरमै भरुवा बन्दुक निर्माण गरी बिक्री वितरण गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७, बारङ्गी कोलाबारीका ४५ वर्षीय पूर्ण लावती लिम्बु रहेका छन् । उनको घरबाट तयारी अवस्थाको भरुवा बन्दुकसहित हातहतियार निर्माणमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार लिम्बुले आफ्नै घरमा भरुवा बन्दुक निर्माण गरी बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा बिहिवार करिब ९ बजेर ५५ मिनेटमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

कानुनबमोजिम गरिएको खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको तयारी अवस्थाको भरुवा बन्दुक १ थान, दबासवाला बन्दुक १ थान, हातहतियार निर्माण गर्ने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका हातहतियार तथा निर्माण सामग्री नियन्त्रणमा लिनुका साथै लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा ल्याइएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया