उदयपुर, २२ असोज – चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनमा स्थानीयस्तरबाट अवरोध भएको विरोधमा उदयपुरको कटारीमा टिपर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेस्र्याएर यातायात अवरुद्ध गरेका हुन् ।
सिमेन्ट उद्योगका लागि खानीबाट चुनढुंगा ढुवानी गर्ने विषयमा स्थानीयवासी र टिपर व्यवसायीबीच बढ्दै गएको विवाद सडक प्रदर्शनसम्म पुगेको हो । टिपर सञ्चालनको विरोधमा स्थानीयवासी उत्रिएपछि चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएको व्यवसायीहरूको भनाइ छ ।
व्यवसायीहरूले स्थानीय अवरोधका कारण आफ्नो लगानी जोखिममा परेको र व्यवसायसँगै रोजगारीसमेत संकटमा परेको बताएका छन् । उनीहरूले कानुनसम्मत तथा व्यवस्थित ढंगले टिपर सञ्चालन गर्न पाउनुपर्ने, चुनढुंगा ढुवानीमा अवरोध गर्न नहुने र व्यवसायमा गरिएको लगानी तथा रोजगारीको संरक्षण हुनुपर्ने माग अघि सारेका छन् ।
यसअघि पनि कटारी नगरपालिका–४ स्थित सिम्ले बजारमा टिपर व्यवसायीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरूले सडकमा टिपर तेस्र्याएर सिद्धिचरण लोकमार्गसमेत अवरुद्ध पारेका थिए। प्रहरीको हस्तक्षेपपछि केही समयमै उक्त सडक सञ्चालनमा आएको थियो ।
अर्कोतर्फ, स्थानीयवासीले बस्ती क्षेत्र हुँदै नियमित रूपमा गुड्ने भारी टिपरका कारण सडकको अवस्था बिग्रिएको तथा वातावरण र जनजीवनमा प्रतिकूल असर परेको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरूले बस्तीमा पर्ने असर न्यूनीकरण गर्न चुनढुंगा ढुवानीका लागि वैकल्पिक सडक प्रयोग गर्नुपर्ने माग राखेका छन् ।
विशेषगरी कटारी नगरपालिका–७ मर्जेतपुरका बासिन्दाले मरुवा–नैनखाडी–आहाले सडकलाई चुनढुंगा ढुवानीको वैकल्पिक मार्ग बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनीहरूले बस्ती हुँदै भारी सवारीसाधन सञ्चालन गर्नुको सट्टा अन्य मार्गबाट ढुवानीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।
व्यवसायीहरूले निर्बाध ढुवानीको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिँदा स्थानीयवासी भने बस्ती र वातावरणको सुरक्षाका लागि वैकल्पिक मार्गको पक्षमा देखिएका छन् । दुवै पक्षका फरक मागका कारण कटारी क्षेत्रमा चुनढुंगा ढुवानीसम्बन्धी विवाद थप जटिल बनेको छ ।
टिपर व्यवसायीले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेपछि कटारी बजार प्रवेश गर्ने सडकसमेत प्रभावित भएको छ । सडक अवरोधका कारण यात्रु तथा अन्य सवारीसाधनको आवागमनमा समस्या उत्पन्न भएको छ ।