तेह्रथुम,०३ साउन — बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका ग्रामीण बस्तीको चुनौती सामना गरिरहेको तेह्रथुमको छथर गाउँपालिकाले धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ अन्तर्गत जन्मिने बालबालिकाको नाममा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म बचत गरिदिने व्यवस्था गरेको हो ।
पहाडी गाउँमा युवा जनशक्ति पलायन हुँदै जानु, ज्येष्ठ नागरिकको अनुपात बढ्नु, विपन्न परिवार आर्थिक संकटमा पर्नु तथा आधारभूत सेवामा पहुँच सीमित हुन थालेपछि गाउँपालिकाले जनसंख्या वृद्धि र सामाजिक सुरक्षालाई एकसाथ सम्बोधन गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
राष्ट्रिय बाल दिवसका अवसरमा विसं २०८१ भदौ २९ गते सुरु गरिएको बालबालिका जीवन सुरक्षा कार्यक्रममार्फत प्रत्येक नवजात शिशुको नाममा रकम बचत गरिन्छ । भविष्यमा शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकतामा आर्थिक आधार तयार गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम सुरु भएको आर्थिक वर्ष २०८१÷०८२ मा ५३ नवजात शिशु लाभान्वित भएका थिए । अभिभावकको आकर्षण बढेपछि आर्थिक वर्ष २०८२÷०८३ मा लाभग्राहीको संख्या ७४ पुगेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले जानकारी दिए ।
गाउँपालिकाले चालु वर्ष कार्यविधि संशोधन गरी पहिलो सन्तानका लागि पाँच हजार, दोस्रोका लागि १० हजार, तेस्रोका लागि १५ हजार तथा चौथो र सोभन्दा माथिका सन्तानका लागि २० हजार रुपैयाँ बचत गर्ने व्यवस्था गरेको छ । दुई वा सोभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप रकम जम्मा गरिनेछ ।
दोस्रो, तेस्रो तथा चौथो सन्तानका लागि क्रमशः बढी रकम उपलब्ध गराउने नीतिलाई गाउँपालिकाले घट्दो जन्मदर सम्बोधन गर्ने जनसंख्या प्रोत्साहन कार्यक्रमका रूपमा लिएको छ ।
गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बालबालिकाको भविष्य सुरक्षित गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए । “हामी धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्नुका साथै जन्मिने प्रत्येक बालबालिकाको भविष्य सुरक्षित गर्न चाहन्छौँ,” उनले भने, “बालबालिकाको नाममा गरिने सानो बचतले भविष्यमा शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकतामा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ।”
चालु आर्थिक वर्षमा पहिलो सन्तानतर्फ २५, दोस्रोतर्फ ३३, तेस्रोतर्फ १० र चौथोतर्फ चार जना लाभान्वित भएका छन् । पाँचौँ र छैटौँ सन्तानतर्फ एक–एक जना लाभग्राही छन् ।
पहिलो सन्तानकी आमा सुजता न्यौपानेले बच्चा जन्मिएलगत्तै बचत सुरु गरिनु सकारात्मक भएको बताइन् । “यसले अभिभावकलाई पनि भविष्यका लागि सोच्न प्रेरित गर्छ,” उनले भनिन् । तेस्रो सन्तानकी अभिभावक भोजकुमारी सङ्ग्रौलाले सहयोगले बालबालिकाको शिक्षा र भविष्यप्रति आशा बढाएको बताइन् । चौथो सन्तानकी आमा कमला कार्कीले रकमभन्दा कार्यक्रमको उद्देश्य महत्त्वपूर्ण रहेको भन्दै निरन्तरता दिनुपर्ने धारणा राखिन् ।
गाउँपालिकाले बालबालिकासँगै ज्येष्ठ नागरिक, विपन्न तथा आवासविहीन परिवारलाई लक्षित कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । ‘ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम’ मार्फत एकल पुरुष ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँसहित सम्मान गरिन्छ ।
अस्पतालसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिकका लागि ‘घरदैलो स्वास्थ्य उपचार कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श दिने गरेका छन् ।
‘जनता आवास कार्यक्रम’ अन्तर्गत आर्थिक अवस्था कमजोर, दलित तथा आवासविहीन परिवारलाई सुरक्षित घर निर्माणमा सहयोग गरिएको छ । जीर्ण र जोखिमयुक्त घरमा बसिरहेका परिवारलाई कार्यक्रमले सुरक्षित आवास उपलब्ध गराउने लक्ष्य राखेको छ ।
आर्थिक अभावका कारण आफन्तको अन्तिम संस्कार गर्न कठिन हुने परिवारलाई ‘मलामी खाजा सहयोग कार्यक्रम’ मार्फत सहयोग गरिन्छ । अत्यन्त विपन्न, असहाय, बेवारिसे तथा आकस्मिक समस्यामा परेका नागरिकलाई ‘भोका नागरिकलाई खाना कार्यक्रम’ अन्तर्गत भोजन वा खाद्यान्न उपलब्ध गराइन्छ ।
राहत वितरणलाई मात्र दीर्घकालीन समाधान नमान्दै गाउँपालिकाले ‘खाद्य रोजगारी कार्यक्रम’ पनि सञ्चालन गरेको छ । श्रम गर्न सक्ने विपन्न नागरिकलाई स्थानीय विकास निर्माणमा सहभागी गराई श्रमको प्रतिफलस्वरूप खाद्यान्न वा आवश्यक सहयोग उपलब्ध गराइन्छ ।
अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाले सामाजिक सुरक्षालाई भत्ता वितरणमा सीमित नगरी नागरिकको जन्मदेखि वृद्धावस्थासम्म जोड्ने प्रयास गरेको छ । सडक, भवन र भौतिक पूर्वाधारसँगै बाल सुरक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा, शोकमा सहयोग र रोजगारीलाई प्राथमिकता दिइएको उनले बताए ।