शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा श्रोत नखुलेको १५ लाख नगदसहित चार जना पक्राउ

मंगलवार , कार्तिक २५, २०८२

सिन्धुली,२५ कात्तिक — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्टमा प्रहरी टोलीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पन्ध्र लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएका ती व्यक्तिहरूमध्ये एक जना चिनियाँ नागरिकसमेत रहेका छन् ।

मंगलवार दिउसो २ः१० बजेको समयमा मदन भण्डारी राजमार्ग हुँदै काठमाडौँतर्फ गइरहेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कारलाई प्रहरीचौकी झनझनेका बरिष्ठ प्रहरी नायव निरीक्षक को कमाण्डमा खटिएको टोलीले नियमित जाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीको पछाडिको टायरभित्र लुकाइराखिएको नगद फेला परेको प्रहरीले जनाएको छ ।

गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद रहेका छन् । उनीसँगै सोही गाडीमा सोहिठो बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे( Xiong Changye) समेत सवार थिए । सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले रकमको स्रोतबारे सोधपुछ सुरु गरेको र बैंकिङ हिसाबकिताब तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार रकम काठमाडौँतर्फ लगिँदै गरिएको बताइएको छ, तर त्यसको उद्देश्य र स्वामित्वबारे यकिन खुलिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सबेढीका अनुसार स्रोत नखुलेको ठूला रकमसम्बन्धी प्रकरणमा हाल आर्थिक अपराध महाशाखासँग पनि समन्वय भइरहेको छ । आवश्यक प्रमाण संकलनपछि कानूनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

स्थानीयहरूले राजमार्गमा नियमित रूपमा हुने चेकिङ अभियानले अवैध आर्थिक लेनदेन नियन्त्रणमा मद्दत पु¥याइरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया