काठमाडौँ,०३ असोज – काठमाडौंमा भएको आन्दोलन र त्यसकै बीचमा देखा परेको अराजक अवस्थाले नयाँ मोड लिएको छ । संसद भवनदेखि भाटभटेनी सुपरमार्केटका विभिन्न शाखासम्म पुगेको तोडफोड र लुटपाटमा बाहिरी घुसपैठ रहेको प्रमाण खुलेपछि देशभित्रै तरंग पैदा भएको छ ।
विशेषगरी जेन जी पुस्ताले आरम्भ गरेको आन्दोलनलाई हिंसात्मक मोड दिने कार्यमा भारतीय लुटेरा संलग्न रहेको तथ्य नेपाली सेनाले सार्वजनिक गरेको छ । सेनाले भदौ २४ गतेको कफ्र्यू अवधिमा संसद परिसर र भाटभटेनी सुपरमार्केटमा सक्रिय रहेर तोडफोडमा संलग्न ६० जना भारतीयलाई पक्राउ गरेको र भोलिपल्टै प्रहरीलाई बुझाइसकेको पुष्टि भएको छ । आन्दोलनमा भारतीय घुसपैठको कुराले राजनीतिक दल र तिनका कार्यकर्ताहरुको मथिंगल हल्लिरहेको बेला यो प्रकरण बाहिर आएको छ ।
राजनीतिक नेतृत्व विरुद्ध चर्किएको असन्तोष, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र त्यसपछि बढेको अराजकतालाई नियन्त्रण गर्न सेनाले जिम्मा लिएपछिको पहिलो निर्णायक कदम नै विदेशी हुलदंगाकारी नियन्त्रण थियो । नेताहरु र मन्त्रीहरुलाई सुरक्षित ठाउँमा पु¥याउने प्राथमिक जिम्मेवारी सकेपछि सेनाले सडकमा सक्रिय समूहहरुलाई नियन्त्रणमा लिँदै ती भारतीय नागरिकसमेत पक्राउ गरेको थियो । स ेनाबाट प्रहरीसम्म हस्तान्तरण गरिएका उनीहरुको विवरण सुरक्षाका कारण गोप्य राखिएको भए पनि, उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
आन्दोलनमा भारतीय हस्तक्षेपको यथार्थ सार्वजनिक भएपछि यसको राजनीतिक प्रभाव बढ्दै गएको छ । दलका नेताहरु र कार्यकर्तामाझैँ सर्वसाधारणमा समेत ‘आन्दोलन कति हदसम्म स्वस्फूर्त र कति बाह्य प्रायोजनमा’ भन्ने प्रश्न उठ्न थालेको छ। आन्दोलनमा हिंसा, लुटपाट र आगजनीलाई ती भारतीय हुलदंगाकारीले थप प्रश्रय दिएको तथ्य बाहिरिएसँगै अब आन्दोलनको स्वरूप, उद्देश्य र विश्वसनीयतामाथि नै व्यापक बहस चल्न थालेको छ । यस घटनाले नेपालको राजनीतिक वृत्त मात्र होइन, नेपाल–भारत सम्बन्धबारे समेत नयाँ प्रश्न खडा गरेको छ ।