सिन्धुली,२१ असोज – असोजको अविरल वर्षासँगै अन्धकारमा डुबेको सिन्धुली अहिले फेरि उज्यालो बन्दैछ । बाढीपहिरोले पोल बगाएको, ट्रान्सफर्मर जलेको र तार चुँडिएको त्यो अँध्यारो रात सम्झिँदा स्थानीय अझै पनि तर्सिन्छन् । तर यिनै कठिन घडीमा, नेपाल विद्युत् प्राधिकरण सिन्धुलीका प्राविधिकहरू र जनप्रतिनिधिहरूको सामूहिक प्रयासले जिल्लामा फेरि उज्यालो ल्याएको छ ।
“बाढी, पहिरो र हिलोबीच पनि हाम्रा कर्मचारीहरू राति अबेरसम्म फिल्डमै छन्,” नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिसिर लम्सालले भन्नुभयो, “स्थानीय जनप्रतिनिधिले पनि हातेमालो गर्नुभयो, जसले गर्दा मर्मत कार्य सहज भयो ।”
गत असोज १९ र १८ गतेको लगातार वर्षाले जिल्लाका दर्जनौं स्थानमा बिजुलीका पोल बगायो । कतै पहिरोले पोल गाडियो, कतै ट्रान्सफर्मर जले । कमलामाई र दुधौली नगरपालिकाको आधा शहर अन्धकारमा डुबेको थियो ।
संचार अवरुद्ध, सडक अवरुद्ध र पानी नझरेको रातमा कोही पनि सहज रूपमा बाहिर निस्कन सक्ने अवस्था थिएन । तर प्राधिकरणका प्राविधिक टोलीले जोखिम मोलेर फिल्डमा उत्रिए । प्रमुख लम्सालकोे भनाइ छ, “हाम्रा प्रबिधिकटोली तारको झिल्को र बिजुलीको जोखिम मोलेर पोल उठाए । कतै माटोमा खुट्टा गाड्न पनि गाह्रो थियो, तर काम रोकिएन ।”
बाढीले सडक बगाए पनि, हिलोले बाटो ढाकिए पनि टोली अघि बढ्यो । विद्युत् पोल बोकेर नदि तर्ने, पहिरो पन्छ्याएर ट्रान्सफर्मर राख्ने, यी सबै दृश्य अहिले सिन्धुलीका बासिन्दाको सम्झनामा छन् ।
कमलामाई र दुधौलीमा अहिले बत्ती बलिसक्यो । सुनकोसी, गोलञ्जोर, फिक्कल, तिनपाटन र घ्याङलेख गाउँपालिकाका धेरै बस्तीहरूमा पनि उज्यालो फर्किएको छ । तर मरिण र हरिहरपुरगढी गाउँपालिकाका केही दुर्गम बस्तीमा अझै मर्मत कार्य जारी छ ।
प्रमुख लम्सालले भन्नुभयो, “कतिपय ठाउँमा पोल गाड्न हिलोमा खुट्टा पुरिन्थ्यो, तार टाँग्दा बिजुलीको झिल्को डर लाग्थ्यो । तर हाम्रो टोलीले गाउँ उज्यालो बनाउन कहिल्यै हार मानेन ।”
यस पुनःस्थापना अभियानमा स्थानीय जनप्रतिनिधिको भूमिका पनि उल्लेखनीय रह्यो । गाउँगाउँमा उनीहरूले सडक सफा गराए, प्राविधिक टोलीलाई बाटो देखाए र आवश्यक सामग्री ल्याउन सहयोग गरे ।
दुधौली नगरपालिकाका एक जनप्रतिनिधि भन्छन्,“विद्युत् छैन भने जीवन नै ठप्प हुन्छ। त्यसैले हामी सबै गाउँलेहरू पनि काममा खटियौं। प्राधिकरणका टोलीसँगै हिलोमा हात मोल्यौं ।”
धेरै दिन अन्धकारमा बिताएका बासिन्दा अहिले फेरि उज्यालो देख्दा रोमाञ्चित छन । दुधौलीकी बिमला थापाले भन्नुभयो, “बत्ती नभएपछि फोन चार्ज गर्न बाहिर जानुपथ्र्यो । टर्चको उज्यालोमा बच्चालाई गृहकार्य गराउँथ्यौं। अहिले त बत्ती बल्दा लाग्छ, फेरि जीवन फर्कियो ।”
प्राधिकरणका प्रमुख शिसिर लम्सालका अनुसार, स्थायी मर्मत कार्य अब निरन्तर चलाइनेछ । क्षतिग्रस्त पोल र ट्रान्सफर्मर प्रतिस्थापन गरिँदैछ, ताकि भविष्यमा यस्ता विपद्को असर न्यून होस् । “यो घटना हामीका लागि पाठ हो,” उहाँले थप्नुभयो, “अत्यावश्यक पूर्वतयारी र आधुनिक संरचना नबनाएसम्म बाढीपहिरोले हामीलाई बारम्बार परिक्षण गर्दै जानेछ ।”
सिन्धुलीमा आएको यो बाढीले अन्धकार मात्र ल्याएको थिएन — यसले सहयोग, जिम्मेवारी र एकताको उज्यालो पनि फैलायो । जब जोखिमका बीच पोल गाडिँदै थिए, तार टाँगिँदै थिए, त्यो केवल विद्युत् मर्मत होइन, सिन्धुलीका नागरिकहरूको आत्मबल र उज्यालोप्रतिको आस्था पनि पुनः प्रज्वलित हुँदै थियो।