चितवन,०२ असोज – चितवनको खैरहनी नगरपालिका–८ स्थित चौबिसकोठी चोकमा भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत उक्त स्थानमा मिनी ट्रक र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–४ चैनपुर निवासी अन्दाजी २७ वर्षीय राजेश भुजेलको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रवार दिउँसो करिब १ बजेर १५ मिनेटको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.१ क ५०९९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको ना.१८ प ५६१२ नम्बरको मोटरसाइकलबीच दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो । उपचारकै क्रममा दिउँसो ३ बजेर २ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मिनी ट्रक र त्यसका चालक जिल्ला बारा, सिमरा उपमहानगरपालिका–४ औराह निवासी अन्दाजी ५३ वर्षीय तुलसी राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।