काठमाडौं,२८ भदौ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको मूल राजनीतिक एजेण्डा घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जालमा लेख्दै देशको लोकतान्त्रिक मार्गलाई अवरुद्ध हुन नदिई समयमै निर्वाचन सम्पन्न गर्नु सबै दल र राज्य संयन्त्रको साझा दायित्व भएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार निर्वाचनलाई टार्न वा ढिलाइ गर्न गरिएको कुनै पनि प्रयासले न केवल राजनीतिक संकटलाई गहि¥याउनेछ, बरु मुलुकलाई थप अस्थिरतामा धकेल्ने जोखिम बढाउनेछ ।
श्रेष्ठले भदौ २३ गते आन्दोलनकारी जेन–जीहरूमाथि भएको ‘नरसंहारकारी दमन’को कडा निन्दा गर्नुभयो । उहाँले सो घटनाले मुलुककै इतिहासमा कालो धब्बा थपेको उल्लेख गर्दै त्यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो । यत्तिमात्र होइन, भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायतका राष्ट्रिय महत्वका संरचना र निजी सम्पत्तिहरू ध्वस्त पारिएको घटनालाई पनि उहाँले समान गम्भीरताका साथ लिएर त्यसमा संलग्न तत्त्वहरूको पहिचान गरी कठोर कारबाही गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भ्रष्टाचारविरुद्ध कडा स्वरमा उत्रिनुभएका श्रेष्ठले २०४७ सालदेखि अहिलेसम्म सरकार, संसद् र सार्वजनिक पदमा रहेर अकूत सम्पत्ति आर्जन गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग समेत अघि सार्नुभयो । अनियमित रूपमा जम्मा गरिएको सम्पत्ति राष्ट्रको सम्पत्ति भएकाले यसलाई राष्ट्रियकरण गर्नु सुशासन र न्यायको आधारभूत अंश भएको उहाँको भनाइ थियो । उहाँले लेख्नुभएको छ “जनताको रगत–पसिनाबाट उठाइएको करको पैसा दुरुपयोग गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुन्न, समयमै कारबाही गरेर सम्पत्ति राज्यको स्वामित्वमा ल्याउनुपर्छ ।”
यससँगै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षामा सचेत रहन सर्वसाधारण नागरिकदेखि राजनीतिक नेतृत्वसम्म सबैलाई आह्वान गर्नुभयो । उहाँका अनुसार मुलुक अहिले संक्रमणकालीन मोडमा छ र यस अवस्थामा प्रत्येक नागरिकले आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न सके मात्र भविष्य सुरक्षित हुनेछ । निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धतासँगै उहाँले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको नयाँ आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।