शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा लकडाउन अवधिमा सवारी कारबाहीबाट साँढे २३ लाख राजश्व संकलन

बुधवार , आषाढ ९, २०७८

सिन्धुली – जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले लकडाउन अवधिमा सवारी कारबाहीबाट साढे २३ लाख बन्दा बढी राजश्व सकंलन गरेको छ । वैशाख २२ गतेबाट हाल सम्म २ हजार ३ सय ३९ वटा सवारी साधन कारबाहीबाट २३ लाख ५३ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले जनाएको छ । जस्मा धेरै ट्रक कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने जिल्ला भित्र तथा जिल्ला भएर चल्ने सवारी साधन कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञाको समयमा बढी भाडा लिने ३४ वटा सवारी साधन कारबाही गर्दा १ लाख ७० हजार राजश्व संकलन भएको छ । यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ९ सय २३ वटा ट्रक कारबाहिबाट ९ लाख ३० हजार ५ सय राजश्व संकलन भएको छ ।

६ सय ७२ वटा जिपकार र भ्यान कारबाही गर्दा ६ लाख ५७ हजार ५सय, २ सय ४८ वटा बस कारबाहिबाट ३ लाख १ हजार ५ सय, ८६ वटा ट्याक्टर कारबाहिबाट ७० हजार, १ सय ४६ अटो कारबाही गर्दा १ लाख ३० हजार र २ सय ६४ वटा मोटसाइकल स्कुटर कारबाही गर्दा २ लाख २६ हजार ५ सय राजश्व सङ्कलन भएको ट्राफिक प्रमुख क्षेत्रीले बताउनुभयो ।

यस्तै निषेधाज्ञाको समयमा १ लाख ७२ हजार बढी भाडा फिर्ता गराइएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ओभर लोड, सिट क्षमता विपरीत सवारी साधन सञ्चालन, मा.प.से. गरी सवारी सञ्चालन, लाईसन नबोकी सवारी सञ्चालन लगायत ट्राफिक नियमको उल्लंघन गरी सवारी सञ्चालन गरेकाहरू कारबाहीमा परेको प्रमुख क्षेत्रीले बताउनुभयो ।

यस्तै निषेधाज्ञामा विना काममा हिँड्ने तथा मास्क नलगाउने १ सय ७२ जना व्यक्तिलाई कारबाही गरी २४ हजार ९ सय जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । यस्तै निषेधाज्ञाको उल्लंघन गर्ने १ सय ७० वटा सवारी साधन कारबाहीबाट ३ लाख ७६ हजार जरिवाना गरिएको छ ।

निषेधाज्ञाको समयमा व्यवसायी खोल्ने ३२ जना व्यापारीलाई नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुली पठाएको डिएसपि लामाले बताउनुभयो ।

प्रतिक्रिया