काठमाडौँस्थित रानीपोखरीमा मिसाउन सिन्धुलीको पवित्र धार्मिकस्थल कमलामाई मन्दिरस्थित कमला नदीको पानी घैलामा उठाईदै ।
सिन्धुली, ३ कार्तिक– काठमाडौँस्थित रानीपोखरीमा मिसाउन सिन्धुलीबाट सोमबार पवित्र धार्मिकस्थल तथा नदीको एक घैला पानी पठाईएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको परिपत्र अनुसार सिन्धुली जिल्लाको कमलामाई मन्दिरको काखमा रहेको कमला नदीबाट एक घैला पानी रानीपोखरीमा मिसाउन पठाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।
रानीपोखरी समुद्घाटन हुनु अघि ७७ वटै जिल्लाको पवित्र धार्मिकस्थल तथा नदीको पानी मिसाउने केन्द्रको परिपत्र अनुसार शुद्धशान्ति गरी कमला नदीको पानी पठाएको कार्यालयका सूचना अधिकारी हेम कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुननिर्माण सकिएकाले कात्तिक ५ गते रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नु हुदैछ । रानीपोखरीमा पानी मिसाउन माथिको पत्रचार थियो । सोही अनुसार सिन्धुली जिल्लाबाट पनि पानी पठाएका हौं ।”
रानीपोखरीको पुननिर्माण राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेकोले मिसाउने पानीको व्यवस्थापन पनि जिल्लास्तरमा सोही कार्यालयले गरेको उहाँको भनाई छ ।