शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नेपाल विद्युत प्राधिकरण सिन्धुलीले अब ग्राहकलाई मुस्कान सहितको सेवा दिने

बिहिवार , माघ १६, २०७६

सिन्धुली १६ माघ– नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीको एकीकृत सेवा प्रवाह कक्षबाट अब ग्राहकले मुस्कान सहितको सेवा पाउने भएका छन् ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीले बुधबार आयोजना गरेको एकीकृत सेवा प्रबाह कक्ष उद्घाटन तथा अतिविपन्न व्यक्ति एवं राष्ट्रिय महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर बितरण कार्यक्रम उद्घाटनको अबसरमा सो कुरा जानकारी गराईएको हो ।

कार्यक्रम उद्घाटन गर्दै कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले ग्राहकको मुहारमा मात्र मुस्कान ल्याउने नभई बिद्युत आपूर्ति बन्द हुदा सोधपुछ गरिने टेलिफोन नम्बरमा बस्ने कर्मचारी पनि मुस्कानसहितको हुनु पर्ने बताउनुभयो । उहाँले एकिकृत सेवा प्रबाह कक्ष सञ्चालनले ग्राहकहरुलाई सेवा लिन सजिलो भएको बताउनुभयो ।

अति विपन्न वर्गलाई आएको निःशुल्क मिटर हुने खानेले पनि लगेको गुनासो आएमा तुरुन्तै उस्को घरमा जडान गरेको बत्ति कटाईने उहाँले चेतावनी दिनुभयो । कमलामाई नगरपालिकाले अबको तीन बर्षभित्रमा पुरै नगरपालिका उज्यालो बनाउने लक्ष्य राखेर काम गरेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘विजुली र खानेपानीको धारामा मात्र मिटर जडान नगरी लेख्ने र हिड्ने व्यक्तिमा पनि मिटर जडान गरिनु पर्‍यो ।’

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौडाका प्रमुख केदारराज सिलवालले अव ग्राहकले कार्यालयमा काम सकेर मुस्कान सहित निस्कीने व्यवस्था मिलाईएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब ग्राहकले फाँट खोज्दै हिड्नु पर्दैन । एउटा ढोकाबाट पसेपछि सबै काम छिटोछरितो किसिमले पाउने छन् । अब यस केन्द्रले पहिले दिएको सेवा र एकिकृत सेवामा फरक आउने छ ।’

स्थानीय निकायले सिफारिस दिई पठाएका व्यक्तिलाई प्राधिकरणको बितरण केन्द्रले अतिविपन्न व्यक्ति भनेर चिन्ने उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सबै नागरिकलाई उज्यालो बनाउने अभियानमा प्राधिकरण लाग्नु पर्ने बताउनुभयो । उहाँले विद्युत सबै जनताको घर दैलोमा पुग्नु पर्ने बताउनुभयो ।

सो अवसरमा अति विपन्न वर्ग र राष्ट्रिय महत्वका सम्पदाहरुलाई गरी ५० वटा मिटर निःशुल्क बितरण गरिएको थियो । बुधबारबाट सुरु भएको निःशुल्क मिटर बितरण अभियान चालु आर्थिक बर्षको असार मसान्तसम्ममा गरी आठ सयवटा बितरण गर्ने लक्ष्य रहेको सिन्धुली बितरण केन्द्रका प्रमुख शेरबहादुर सुनारले जानकारी दिनुभयो ।

बितरण केन्द्रका अनुसार गत आर्थिक बर्ष ०७५/०७६ मा एक हजार १५४ जनालाई निःशुल्क मिटर बितरण गरिएको थियो । स्थानीय निकायको सिफारिसमा उक्त मिटर बितरण गरिने छ । मिटर किनेर घरमा विद्युत जडान गर्न नसक्ने व्यक्तिलाई उक्त मिटर उपलब्ध गराईने छ ।

प्रतिक्रिया