मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सिन्धुलीमा अटो दुर्घटना हुँदा दुई जना घाइते

शुक्रवार , आश्विन १६, २०८३

सिन्धुली,१६ असोज —कमलामाई नगरपालिका वडा ८ को माईस्थानमा अटो दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । घाइते चालकलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रवार जानकारी दिएको छ  ।

बिहिवार राति करिब ९ बजे बीपी राजमार्गअन्तर्गत भिमानबाट सिन्धुलीतर्फ आउदै गरेको भे ३ च १५६६ नम्बरको अटो आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी विवरणमा उल्लेख छ । अटो कमलामाई नगरपालिका वडा ९ निवासी ३५ वर्षीय संजिब पौडेलले चलाएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा पौडेलको बायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । अटोमा सवार सोही स्थानकी ३० वर्षीया सर्मिला काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । उनको अवस्था सामान्य छ । प्रहरी विवरणअनुसार काफ्ले चालककी जेठी सासू नाता पर्ने हुन् ।

दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लइएएको थियो । राति ११ बजेर ५ मिनेटमा पौडेललाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धुलिखेल अस्पताल पठाइएको हो ।

घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरीसहितको टोलीले  अटो घटनास्थलमै प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

 

प्रतिक्रिया