सिन्धुली,१५ असोज – शव परीक्षणका लागि मृतकको शव बोकेर सिन्धुलीमाढी, मन्थली वा धुलिखेल पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गोलन्जोर गाउँपालिकाले ग्वाल्टारमै सेवा सञ्चालनमा ल्याएको छ । ग्वाल्टारस्थित गोलन्जोर आधारभूत अस्पतालमा बिहिदेखि शव परीक्षण अर्थात् पोस्टमार्टम सेवा सुरु भएको हो । गाउँपालिकाले बुधबार सूचना जारी गर्दै सेवा सञ्चालनमा आएको जानकारी दिएको छ ।
आत्महत्या, दुर्घटना, विपद् तथा शंकास्पद अवस्थामा मृत्यु भएका व्यक्तिको शव परीक्षण अब उक्त अस्पतालमा हुने भएको छ । यसअघि यस्ता घटनामा मृत्यु भएका व्यक्तिको शव परीक्षण गराउन स्थानीय बासिन्दाले आफ्नो क्षेत्रभन्दा टाढाका अस्पतालसम्म पुग्नुपर्ने अवस्था थियो । गाउँमै सेवा उपलब्ध भएपछि शव परीक्षणका लागि अन्यत्र जानुपर्ने समस्या हट्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार नयाँ सेवाबाट विशेषगरी गोलन्जोर, फिक्कल र सुनकोशी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । रामेछाप र ओखलढुंगाका सिन्धुलीसँग सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत यसले सुविधा पुग्ने उनले बताए। शव परीक्षणका लागि टाढा पुग्नुपर्ने ती क्षेत्रका नागरिकको समस्यालाई सम्बोधन गर्न सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।
यसअघि सुनकोशी नदीले बगाएर ल्याएका बेवारिसे शव तथा हत्या, आत्महत्या र दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव परीक्षणका लागि सिन्धुली सदरमुकाम लैजानुपर्ने बाध्यता थियो । स्थानीय स्तरमा सेवा नहुँदा शव बोकेर लामो दूरी तय गर्नुपर्ने र त्यसबाट आर्थिक तथा सामाजिक दुवै समस्या झेल्नुपरेको अध्यक्ष बरालले बताए ।
“पोष्टमार्टमकै लागि यहाँका नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए । कतिपय घटनामा सरसापट गरेर भए पनि शव सिन्धुली पु¥याएर पोस्टमार्टम गर्नुपर्ने अवस्था थियो,” अध्यक्ष बरालले भने, “अब गाउँमै पोष्टमार्टम हुने भएपछि शव बोकेर सिन्धुलीलगायत अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ ।”
बरालका अनुसार सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकले भोग्दै आएको यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले ग्वाल्टारमा शव परीक्षण सेवा सञ्चालनका लागि पहल गरेको हो। शव परीक्षण गराउन सदरमुकाम वा अन्य स्थानमा जानुपर्ने अवस्थाले स्थानीय नागरिकलाई परेको कठिनाइलाई सम्बोधन गर्नु उक्त पहलको उद्देश्य रहेको उनले बताए ।
“गडतिर क्षेत्रका नागरिकको स्वास्थ्य समस्याप्रति म धेरै चिन्तित छु । पोष्टमार्टमकै लागि यहाँका नागरिकले भोग्दै आएको दुःख अब दोहोरिन नदिन गाउँमै सेवा ल्याएका हौं,’ बरालले भने ।
ग्वाल्टारमा सेवा सुरु भएसँगै शव परीक्षणका लागि सिन्धुलीमाढी, मन्थली वा धुलिखेलसम्म शव पु¥याउनुपर्ने अवस्थाको विकल्प स्थानीय अस्पतालमै उपलब्ध भएको छ । अध्यक्ष बरालले यसलाई वर्षौंदेखि नागरिकले भोग्दै आएको सास्ती घटाउने सेवाका रूपमा उल्लेख गरेका छन् । विशेषतः शव अन्यत्र लैजाँदा खर्च जुटाउन सरसापटसमेत गर्नुपर्ने परिवारका लागि स्थानीय सेवा उपलब्ध हुनु राहतको विषय हुने उनको भनाइ छ ।
गोलन्जोर आधारभूत अस्पतालबाट सुरु भएको यो सेवाले गोलन्जोरसँगै आसपासका गाउँपालिका र छिमेकी जिल्लाका सीमावर्ती क्षेत्रलाई समेत समेट्ने गाउँपालिकाले जनाएको छ । यससँगै आत्महत्या, दुर्घटना, विपद्, हत्या वा शंकास्पद मृत्यु तथा नदीले बगाएर ल्याएका बेवारिसे शवको परीक्षणका लागि टाढाका अस्पतालमा निर्भर हुनुपर्ने स्थानीय बाध्यता हट्ने अपेक्षा गरिएको छ ।