मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

बिहिवार , आश्विन १५, २०८३

सिन्धुली,१५ असोज — सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खाल्टे बजारमा बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधवार साँझ करिब ७ बजेर १५ मिनेटको समयमा खाल्टे बजार क्षेत्रमा नाम, थर र ठेगाना नखुलेका करिब ६०/६५ वर्ष उमेर देखिने पुरुष व्यक्ति अचेत अवस्थामा फेला परेका थिए । स्थानीयले ती व्यक्ति मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा रहेको जानकारी इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा गराएका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालये प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल उद्धार गरी ती पुरुषलाई उपचारका लागि सुनकोशी गाउँपालिका–६ स्थित आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पु¥याएको थियो ।

अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा ती पुरुषले खाली पेटमा मादक पदार्थ सेवन गरेको तथा उनको रक्तचापसमेत उच्च रहेको जानकारी दिएका थिए । उपचारका क्रममा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको थियो ।

उपचार जारी रहेकै अवस्थामा आज बिहिवार बिहान ४ बजेर ५० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया