सिन्धुली,१४ असोज — सिन्धुलीमा लागू औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–९ पोखरेस्थित प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधवार बिहान करिब १०ः३० बजेको समयमा इटहरीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–००७ ख १४५३ नम्बरको हायसलाई रोकी नियमित चेकजाँच गरिएको थियो । सो क्रममा हायसमा सवार सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का ३२ वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका २१ वर्षीय देवन्द्र यादवको साथबाट शंकास्पद लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ रहेको र प्लास्टिकबाहेक यसको तौल ५ ग्राम ३ मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुधौलीमा राखिएको जनाएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।