सिन्धुली,१४ असोज — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटना बुधवार बिहान करिब ८ः३० बजे भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । उद्धार गरिएका आठै जना घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।
उक्त स्कार्पियोका चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ निवासी करिब २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले प्रारम्भिक रूपमा जिप अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ । दुर्घटनाको विस्तृत कारण, सवारीको अवस्था तथा अन्य प्राविधिक पक्षबारे अनुसन्धान भइरहेको छ ।