मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सिन्धुलीको भिमानमा अवैध ढुंगा बोकेका टिपर प्रहरी नियन्त्रणमा

मंगलवार , आश्विन १३, २०८३


सिन्धुली,१३ असोज – अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा ओसारपसार गर्ने पाँच वटा टिपरलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिई कारबाहीका लागि कमलामाई नगरपालिकाको कार्यालयमा पठाएको छ । नियन्त्रणमा लिइएका ती टिपरलाई नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमवार राति करिब १०ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका–९ स्थित ट्राफिक चेकपोस्ट, भिमान बसपार्क क्षेत्रमा नियमित जाँच गर्ने क्रममा अवैध रूपमा ढुंगा लोड गरी बर्दिवासतर्फ जाँदै गरेका टिपरहरू फेला पारेको थियो। 

प्रहरी टोलीले दुधौली क्षेत्रबाट ढुंगा लोड गरी आउँदै गरेका ती टिपरलाई रोकी जाँच गर्दा नदीजन्य पदार्थ ढुवानीका लागि आवश्यक स्टक प्रमाणित कागजपत्र साथमा नरहेको पाइएको थियो । कागजातविहीन अवस्थामा ढुंगा ओसारपसार गरिरहेका सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका टिपरहरूमा बा.प्र.०३–००१ क ०६९६, बा.प्र.०३–००१ क ७८३, बा.प्र.३–००१ क ०६८८, बा.प्र.३–००१ क ०७८२ र बा.प्र.३–००१ क ०७८० नम्बरका रहेका छन् ।

उक्त पाँचवटै टिपरमाथि नगरपालिकाको कार्यालय सिन्धुलीबाट प्रचलित नियमअनुसार कारबाही गर्दै  १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी र चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया