धुलिखेल,१२ असोज – वर्षासँगै रोसी खोलामा आएको भीषण बाढी र पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग मंगलबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य तीव्र पारिएको छ । वर्षा रोकिएसँगै खोलाको बहाव घटेपछि बाढीले कटान गरेका स्थानमा नयाँ डाइभर्सन निर्माण तथा पहिरो हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
शनिबारदेखि अवरुद्ध बनेको राजमार्गका कारण पूर्वी तराई तथा मध्यपहाडी क्षेत्रबाट संघीय राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । लामो समयसम्म राजमार्ग पूर्णरूपमा बन्द भएपछि सोमबार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीसहितको टोलीले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले बाढीले क्षति पुर्याएको कटुञ्जे (घुमाउने) क्षेत्रमा वैकल्पिक रूपमा एकतर्फी सवारी सञ्चालन गर्न सकिने गरी भित्री ट्रयाक तयार भइसकेको जानकारी दिए । उहाँका अनुसार चौकीडाँडा क्षेत्रमा खोलाको किनारबाट नयाँ डाइभर्सन निर्माणको काम भइरहेको छ । उक्त स्थानमा भइरहेको निर्माण प्रगतिका आधारमा मंगलबार बिहानसम्म डाइभर्सन तयार हुने अपेक्षा गरिएको उनले बताए ।
उनले सडक डिभिजन भक्तपुरमार्फत निर्माण व्यवसायीलाई मंगलबार दिउँसोसम्म यातायात सञ्चालन हुने गरी कामलाई तीव्रता दिन निर्देशन दिइएको जानकारी दिए ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गका चार सयबेंसी, दाउन्ने र माम्तीलगायतका क्षेत्रमा खसेका पहिरो हटाइसकिएको बताए । उनका अनुसार चौकीडाँडामा बाढीले बगाएको डाइभर्सन पुनःनिर्माणका लागि पाँच वटा स्काभेटर र बुलडोजर परिचालन गरिएको छ ।
“राजमार्गका विभिन्न स्थानमा खसेका पहिरो हटाउने काम सम्पन्न भइसकेको छ । अहिले बाढीले बगाएका (वासआउट) सडकखण्ड जोड्ने काममा केन्द्रित भएका छौँ,” डिभिजन प्रमुख योगेशले भने, “मौसमले साथ दिए मंगलबार दिउँसो वा बढीमा साँझसम्म बिपी राजमार्गमा यातायात पुनः सञ्चालन हुनेछ ।”
उनले घुमाउने क्षेत्रमा निर्माण गरिएको वैकल्पिक भित्री ट्रयाकबाट एकतर्फी यातायात सञ्चालन गर्ने तयारी भइरहेको तथा जाइका खण्डमा समेत मर्मत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए ।
रोसी खोलाको बाढीले बिपी राजमार्गका विभिन्न भागमा ठूलो क्षति पु¥याएको छ । चौकीडाँडा र कटुञ्जे क्षेत्रमा करिब तीन–तीन सय मिटर सडक तथा डाइभर्सन बगाएको छ । त्यस्तै पिप्ले क्षेत्रमा दुई सय ८५ मिटर र माम्ती क्षेत्रमा करिब एक सय मिटर डाइभर्सनमा क्षति पुगेको छ ।
यसैगरी दाउन्ने–कालोपुल क्षेत्रमा करिब पाँच सय मिटर सडकमा पहिरो खसेको थियो भने चार सयबेंसी क्षेत्रमा करिब एक सय मिटर सडक पहिरोका कारण प्रभावित बनेको थियो । ती स्थानमा पहिरो हटाउने तथा क्षतिग्रस्त सडक संरचना पुनःस्थापना गर्ने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बनेको महत्वपूर्ण राजमार्ग पुनः सञ्चालनमा ल्याउन सरकारी निकाय, निर्माण व्यवसायी र प्राविधिक टोली परिचालन गरिएको छ । मौसम अनुकूल रहेमा मंगलबार साँझसम्म यातायात नियमित हुने अपेक्षा गरिएको छ ।