काठमाडौं,१२ असोज – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले संसद् बैठकका लागि सिंहदरबार आउँदा जनताका समस्या र राष्ट्रिय सरोकारका विषयले आफ्नो ध्यान तान्ने गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिन्धुलीबाट निर्वाचित सांसद गजुरेलले आफूलाई जिल्लाका नागरिकहरूले स्थानीय विषयभन्दा राष्ट्रिय मुद्दामा बढी बोल्ने गरेको भन्दै प्रश्न गर्ने गरेको बताए । उनले सुरुमा सिन्धुलीका समस्या उठाउने तयारी गरे पनि सिंहदरबार आउने क्रममा देखिने र सम्झिने राष्ट्रिय समस्याले आफ्नो बोल्ने विषय परिवर्तन हुने गरेको उल्लेख गरे ।
“म सिन्धुलीको विषयमा बोल्छु भनेर तयारी गर्छु । घर लोकन्थलीबाट सिंहदरबार साइकलमा सरर आउँछु,” उनले भने, “साइकल चढिरहँदा मेरो दिमागमा राष्ट्रिय विषयहरू खेल्न थाल्छन् र मैले संसद्मा बोल्ने विषय फेरिन्छन् ।”
उनले साइकल यात्राका क्रममा देशका विभिन्न समस्या सम्झिने गरेको बताए । विशेषगरी नेपाल वायुसेवा निगमका जहाज ग्राउन्डेड भएको अवस्था, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको चुनौती, ग्यास अभाव, बन्द उद्योग पुनः सञ्चालनलगायतका विषय आफ्नो ध्यानमा आउने गरेको उनको भनाइ थियो ।
सांसद गजुरेलले नेपाली नागरिकहरूले वैदेशिक रोजगारीका क्रममा भोगिरहेका कठिनाइ, बीपी राजमार्ग अवरुद्ध भएको अवस्था, कृष्णभीरमा हुने पहिरो, कर्णाली राजमार्गमा दोहोरिने सडक दुर्घटना, सार्वजनिक यातायातमा यात्रुले व्यहोर्नुपरेका समस्या तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकका पीडासमेत आफूले सम्झने गरेको बताए ।
उनले यस्ता जनसरोकारका विषय धेरै रहेकाले प्राथमिकताका आधारमा समाधान गर्न सरकारलाई आग्रह गरे। जनताका दैनिक समस्या, पूर्वाधार, यातायात, स्वास्थ्य, रोजगारी र सेवा प्रवाहसँग जोडिएका विषयलाई क्रमशः सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।