बनेपा,१२ असोज – अविरल वर्षासँगै रोसीखोलामा आएको बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको बिपी राजमार्ग पुनः सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले क्षतिग्रस्त संरचना पुनर्निर्माण र अस्थायी डाइभर्सन निर्माणको काम जारी रहेकाले मंगलबार साँझसम्म मात्रै यातायात सञ्चालन गर्न सकिने जनाएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशले लगातारको वर्षा र रोसीखोलाको बाढीका कारण काम प्रभावित भएको बताउँदै राजमार्ग सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिए । उनका अनुसार शनिबार चौकीडाँडामा बाढीले बगाएको डाइभर्सनको विकल्पमा भित्री ट्र्याकबाट सवारी सञ्चालन गर्ने उद्देश्यले पुनः डाइभर्सन निर्माण गरिएको थियो । तर, वर्षासँगै आएको रोसीखोलाको बाढीले उक्त संरचना फेरि बगाएपछि काम प्रभावित भएको हो ।
उनले वर्षा रोकिएसँगै सोमबार बिहानदेखि चौकीडाँडामा नयाँ अस्थायी डाइभर्सन निर्माण सुरु गरिने र सोमबार साँझसम्म भित्री सडकमार्फत सवारी सञ्चालनको तयारी गरिने बताए । “रोसीखोलामा आएको बाढीले चौकीडाँडाको डाइभर्सन बगाएको छ । अब तत्काल अस्थायी व्यवस्था गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले भने ।
सडक डिभिजन प्रमुख योगेशका अनुसार बाढीले बगाएको कटुन्जे (घुमाउने) क्षेत्रको डाइभर्सन शनिबार नै एकतर्फी सवारी सञ्चालन हुने गरी तयार गरिएको थियो । चौकीडाँडाको डाइभर्सन निर्माण सम्पन्न भएपछि जाइकाको ठेक्का रहेको क्षेत्रसम्म पुग्न सकिने उनले बताए ।
राजमार्गमा आएका पहिरो हटाउने काम लगभग सम्पन्न भइसकेको छ । तर, जाइकाको ठेक्का अन्तर्गत पर्ने पिप्ले र माम्ती क्षेत्रमा बगाएको डाइभर्सन तथा पहिरो हटाउन थप दुई दिन लाग्ने भएकाले मंगलबार साँझअघि पूर्ण रूपमा यातायात सञ्चालन सम्भव नहुने कार्यालयले जनाएको छ । चौकीडाँडामा डाइभर्सन निर्माणमा समस्या आए खानेपानीको पम्प हाउस भत्काएर भए पनि वैकल्पिक बाटो खोल्ने तयारी रहेको उनले बताए ।
रोसीखोलाको बाढीले चौकीडाँडामा करिब तीन सय मिटर, कटुन्जेमा करिब तीन सय मिटर, माम्तीमा एक सय मिटर र पिप्लेमा २८५ मिटर डाइभर्सन सडक बगाएको छ । यसअघि विसं २०८१ असोज दोस्रो साता आएको बाढीले दाप्चा पुलदेखि नेपालथोकसम्मको २९ किलोमिटर बिपी राजमार्गमा ठूलो क्षति पु¥याएको थियो । हाल काभ्रेपलाञ्चोकतर्फ चार र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माण कार्य भइरहेको छ ।
यसैबीच, पहिरो हटाइएपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड दिउँसो १ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । यता धुलिखेल नगरपालिका–११ फस्कोटमा काभ्रेभन्ज्याङदेखि नमोबुद्ध जाने सडक वर्षाका कारण भासिएपछि यातायात अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।