धनुषा,११ असोज — धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान करिब ९ बजेर १० मिनेटमा स्थानीय राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी टोली र सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । उद्धारका क्रममा घरभित्र रहेका पाँच जनामध्ये चार जनालाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
उद्धार टोलीले बिहान करिब ११ बजे राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारेको थियो। पहिरोमा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठको शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।