सिन्धुली,१० असोज – ऐतिहासिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बागमती प्रदेशका १५ स्थानीय तह र ऐतिहासिक गढीलाई जोड्ने ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ । स्टोरीसाइकलको पहलमा अघि बढाइएको अभियान विश्व पर्यटन दिवस अर्थात् सेप्टेम्बर २७ को अवसरमा सञ्चालन हुँदै आएको हो । आगामी डिसेम्बर २०२६ मा आयोजना हुने साइकलिङ उत्सव तथा दिगो पर्यटकीय करिडोर निर्माणको पूर्वतयारीस्वरूप हरिहरपुरगढीमा विशेष अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको संयोजन तथा स्टोरीसाइकलको आयोजनामा शनिबार भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, युवा, हरिहरपुरगढीको इतिहासका जानकार तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा ऐतिहासिक हरिहरपुरगढीको महत्व, सामुदायिक वनको अवस्था तथा पर्यटन विकासका सम्भावनाबारे छलफल भएको थियो । सोही क्रममा सामुदायिक वनका सहभागीले वन क्षेत्रमा बनाइने अग्निरेखालाई वातावरणमैत्री साइकल लेनका रूपमा विकास गर्न सकिने प्रस्ताव अघि सारे । वन संरक्षणसँगै साहसिक पर्यटनको विस्तारका लागि यस्तो संरचना उपयोगी हुने अपेक्षा गरिएको छ ।
अभियानका टोली प्रमुख दिपक श्रेष्ठका अनुसार विगतमा गरिएको गहन अध्ययन तथा अघिल्ला संस्करणको अनुभवका आधारमा तेस्रो संस्करणको तयारी अघि बढाइएको हो । अध्ययन तीन प्रमुख आधारमा केन्द्रित छ । पहिलो, पर्यटन क्षेत्रबाट हुने कार्बन उत्सर्जन २० देखि ३० प्रतिशतसम्म घटाउने न्यून–कार्बन पर्यटनको अवधारणा हो । दोस्रो, पर्यटनबाट सिर्जित आम्दानीको कम्तीमा ८० प्रतिशत हिस्सा स्थानीय होमस्टे तथा युवा व्यवसायीसम्म पु¥याउने लक्ष्यसहित स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने योजना छ । तेस्रो, ऐतिहासिक गढी तथा पुराना पदमार्गलाई आधुनिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै सम्पदाको पुनर्जागरण गर्ने लक्ष्य राखिएको छ ।
टोलीका सदस्य तथा जनस्वास्थ्य विज्ञ दीप राजा थापाले अभियानले शारीरिक र सामाजिक सुस्वास्थ्य प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताए । उनका अनुसार पर्माकल्चर, माइन्डफुलनेस र स्थानीय इतिहासलाई विश्वभरका पर्यटकमाझ पु¥याउन साइकल भ्रमण प्रभावकारी माध्यम बन्न सक्छ ।
नेपाल साइकल संघका सचिव तथा प्राविधिक टोली प्रमुख देवेन्द्र बस्नेतले प्रस्तावित ट्रेलले नेपालमा लामो दूरीको साहसिक साइक्लिङ र वातावरणमैत्री पर्यटनको दोहोरो सम्भावना उजागर गर्ने उल्लेख गरे ।
यसअघि स्टोरीसाइकलले अध्ययन गरेको ‘एकीकरण पदमार्ग’ तथा नमोबुद्धदेखि फिक्कलसम्मको ‘ग्रेट महाभारत ट्रेल’लाई समेत समेटेर यसपटक चक्रिय ट्रेलको अवधारणा अघि सारिएको हो । स्टोरीसाइकलका निर्देशक तथा टिम लिड सौरभ ढकालका अनुसार विभिन्न रुटको सम्भाव्यता अध्ययनपछि ती मार्गलाई एकीकृत गरी चक्रिय पर्यटकीय मार्गका रूपमा विकास गर्न तेस्रो संस्करणलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ । “विगतका विभिन्न रुटहरूको सम्भाव्यता अध्ययनपछि अहिले तिनलाई एकीकृत गरी चक्रिय मार्गको रूपमा विकास गर्न र तेस्रो संस्करणलाई भव्य बनाउन जुटेका हौँ,” ढकालले भने, “काभ्रेको खोपासी–पात्लेखेत हुँदै सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई जोड्ने यस करिडोरमा स्थानीय हरित आतिथ्य, स्थानीय रैथाने उत्पादनको खपत र डिजिटल प्रविधिको प्रयोगबाट मात्र दिगो पर्यटन सम्भव हुन्छ ।”
प्रस्तावित ३९०.५ किलोमिटरको चक्रिय यात्रा ललितपुर महानगरपालिका–६, कनिबहालबाट सुरु हुनेछ । लुभु, लामाटार, पनौती, नमोबुद्ध, बालुवाटार, हायुगाउँ, कोटगाउँ, बन्दीपुर, नागी मजुवा, सिन्धुलीगढी, सिन्धुलीमाढी, मरिण, पञ्चकन्या पोखरी, घण्टे, हरिहरपुरगढी, फापरबारी, फूर्केचौर र मकवानपुरगढी हुँदै टीकाभैरव पुगेर पुनः कनिबहालमै यात्रा टुगिनेछ ।
प्रस्तावित परिपथले बागमती प्रदेशका ऐतिहासिक किल्ला, वन–जंगल र प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटन सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ । साथै स्थानीय समुदाय, होमस्टे, युवा उद्यम, रैथाने उत्पादन र वातावरणमैत्री पूर्वाधारलाई पर्यटनसँग जोडेर दीर्घकालीन तथा स्थानीय लाभमा आधारित पर्यटन करिडोर निर्माण गर्ने उद्देश्य अभियानले अघि सारेको छ ।