काठमाडौं,१० असोज — काठमाडौं प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुसन्धान र कारबाहीका क्रममा ठूलो परिमाणमा लागुऔषध तथा अन्य सामग्री बरामद गरिएको हो ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले बिहीबार राति चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा गरेको नियमित चेकजाँचका क्रममा ट्रामाडोल १२० क्याप्सुलसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ स्थायी घर भई हाल चन्द्रागिरि–२ बस्ने २२ वर्षीय रुबिन सुनार र धादिङकै धुनबेसी नगरपालिका–५ का २१ वर्षीय सन्तोष तामाङ रहेका छन् ।
उनीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार चन्द्रागिरि नगरपालिका–१५ नैकापबाट थप तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चन्द्रागिरि–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ घर भई हाल कीर्तिपुर नगरपालिका मैत्रीनगर बस्ने २४ वर्षीय बिजय तामाङ र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई चन्द्रागिरि–२ थानकोट बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।
प्रहरीका अनुसार बिक्रम घलेसँगको सोधपुछका क्रममा ट्रामाडोल बिक्री गर्ने व्यक्तिका रूपमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ सिर्जना टोल बस्ने ३३ वर्षीय ललितबहादुर स्याङतान र सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ घर भई सोही क्षेत्रमा बस्दै आएका ३२ वर्षीय रत्न तामाङको नाम खुलेको थियो ।
त्यसपछि प्रहरीले शुक्रबार साँझ बौद्ध मुलपानी क्षेत्रबाट स्याङतान र तामाङलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३.०१ ग्राम, डाइजेपाम ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल र ट्रामाडोल १८ हजार १४० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले बा.प्र. ०३–००२ प ७४८ नम्बरको मोटरसाइकल, ६ थान मोबाइल फोन र नगद ५ लाख ६० हजार चार सय रुपैयाँसमेत बरामद गरेको छ ।
पक्राउ परेका सातै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।