काठमाडौँ,०९ असोज – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया क्षेत्रबाट खसीको मासु भन्दै बाख्रा र कुकुरको मासु बिक्री गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अत्तरिया बजार र बसपार्क क्षेत्रबाट फरक–फरक घटनामा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार अत्तरिया बजारको धनगढी लाइनमा सञ्चालनमा रहेको रफिक मासु पसलबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उक्त मासु पसलका सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक करेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी रहेका छन् ।
उनीहरूमाथि खसीको मासु भनेर बाख्राको मासु बिक्री गरेको आरोप लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान अघि बढाइरहेको छ । प्रहरीले बरामद गरेको मासुलाई परीक्षणका लागि प्रयोगशालामा पठाएको छ ।
यसैबीच, गोदावरी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रबाट कुकुरको मासु बिक्री गर्न खोजेको आरोपमा प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले ६५ वर्षीय सुरेश नेपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कुकुर काटेको भन्ने सूचना प्राप्त भएपछि नेपालीलाई नियन्त्रणमा लिइएको थियो। गोदावरी नगरपालिका–२ घर भएका नेपालीले प्रारम्भिक अनुसन्धानका क्रममा आफूले खानका लागि स्यालको मासु काटेको बताएका छन् ।
तर प्रहरीले बरामद गरेको मासु कुन जनावरको हो भन्ने विषय भने अझै पुष्टि नभएको जनाएको छ । उक्त मासुसमेत परीक्षणका लागि प्रयोगशालामा पठाइएको डीएसपी तिमिल्सिनाले बताए ।
प्रहरीले दुवै घटनामा बरामद गरिएको मासुको परीक्षणपछि मात्रै वास्तविकता स्पष्ट हुने जनाएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।