शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना

शुक्रवार , आश्विन २, २०८३

सिन्धुली — बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ बाघमारा क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवती घाइते भएकी छन् । दुर्घटना बिहिबार दिउँसो करिब ३ बजे भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रवार जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको सिन्धुली कमलामाई नगरपालिका–६ निवासी २२ वर्षीय राजु शाहले चलाएको  बा.प्र.०२–००१ प २२० नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानकी करिब २१ वर्षीया आकृति परियार घाइते भएकी छन् । उनको अनुहार तथा टाउकोमा चोट लागेको र हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक शाहले मादक पदार्थ सेवन गरेको पाइएको तथा उनीसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको उल्लेख गरिएको छ । दुर्घटनापछि मोटरसाइकल इलाका प्रहरी कार्यालय भीमानको नियन्त्रणमा राखिएको छ भने चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीले नियन्त्रणमा लिएको छ । उनलाई भीमान प्रहरी कार्यालय ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमानबाट करिब ४ किलोमिटर उत्तरतर्फ रहेको छ ।

प्रतिक्रिया