शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रसुवा बाढीपीडितका लागि सिन्धुली रेडक्रसको सहयोग

बिहिवार , आश्विन १, २०८३


सिन्धुली,०१ असोज – रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले चार लाख ५३ हजार २२९ रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आह्वानअनुसार नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखा तथा मातहतका विभिन्न समिति, उपसमिति, पालिका र उपशाखाहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । रकम जम्मा गरिएको बैंक भौचर रेडक्रसले औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत बुझाएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए ।

सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी स्कृम श्रेष्ठले मानवीय सहायता र विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरिन । उनले आपत्कालीन अवस्थामा राहत तथा उद्धार कार्यमा रेडक्रस सधैँ अग्रपंक्तिमा रहेर काम गर्दै आएको उल्लेख गर्दै सिन्धुली शाखाले मानवीय सेवामा पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताइन ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्का समयमा सरकारी निकायसँग सहकार्य गर्दै समुदायस्तरबाट सहयोग जुटाउने कार्यले प्रभावित नागरिकलाई राहत पु¥याउन सहयोग पुग्ने धारणा राखिन । उनले सिन्धुली रेडक्रसको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गरिन ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठका अनुसार उक्त रकम जिल्लाका विभिन्न उपशाखा, समूह, कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय सहभागिताबाट संकलन गरिएको हो । विपद्बाट प्रभावित समुदायप्रति सहयोग र ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले जिल्लाभरबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवा बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने प्रक्रिया अझै जारी छ । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था र सामाजिक क्षेत्रका संस्थाहरूबाट प्राप्त सहयोग रकम कोषमा दाखिला गर्ने कार्य निरन्तर भइरहेको कार्यालयले जनाएको छ ।

विपद्का बेला स्थानीय तह, सामाजिक संस्था र नागरिकस्तरबाट प्राप्त हुने सहयोगले प्रभावित समुदायको तत्कालीन राहत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया