सिन्धुली,०१ असोज – रसुवाको बाढीमा बेपत्ता भएका कमलामाई नगरपालिका–११ को नौ जनाको बिहिवार कुशबाट प्रतीकात्मक शव निर्माण गरी सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ । बाढीमा हराएका उनीहरूको वास्तविक शव फेला नपरेपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको आकृति बनाएर कमलामाई नगरपालिका–११ स्थित बिसारेबेँसीमा अन्तिम संस्कार गरिएको हो ।
बेपत्ता भएका व्यक्तिहरूका परिवारजनले अन्तिम पटक अनुहार हेर्ने अवसरसमेत पाएनन् । आफन्तको पार्थिव शरीरलाई काँध दिने र अन्तिम स्पर्श गर्ने चाहना पूरा हुन नसकेपछि परिवारले प्रतीकात्मक रूपमा तयार पारिएको कुशको शरीरमार्फत उनीहरूलाई अन्तिम विदाइ गरेका हुन् ।
बाढीमा बेपत्ता हुनेमा कमलामाई नगरपालिका–११ का राजकुमार श्रेष्ठ, बुद्धी विक्रम थापा, लक्ष्मण सापकोटा, बलबहादुर माझी, सोमबहादुर माझी, भरत माझी, बखतबहादुर खत्री, टंकबहादुर श्रेष्ठ, विष्णुबहादुर श्रेष्ठ र प्रेमकुमार घलान रहेका छन्।
कमलामाई नगरपालिका–११ का बाढी प्रभावित परिवारका सदस्य, आफन्त तथा स्थानीयवासीको उपस्थितिमा गरिएको सामूहिक दाहसंस्कारमा बेपत्ता व्यक्तिहरूको आत्माको शान्तिको कामना गरिएको थियो । बाढीले लगेकामध्ये एक जनाको भने यसअघि नै बुधबार अन्त्येष्टि गरिएको थियो ।
रसुवा क्षेत्रमा आएको बाढीका कारण हराएका नागरिकहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि सबैको अवस्था यकिन हुन सकेको छैन । लामो समयसम्म पनि आफन्तको शव प्राप्त नभएपछि परिवारले परम्परागत विधिअनुसार कुशको प्रतीकात्मक शरीर बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेका हुन् ।
अन्तिम संस्कारका क्रममा उपस्थित परिवारजनले आफ्ना प्रियजनको भौतिक उपस्थिति नभए पनि धार्मिक विधि पूरा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । घटनाले बाढी प्रभावित परिवारले भोगिरहेको पीडा र अनिश्चित अवस्थालाई थप उजागर गरेको छ ।
प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार र प्रभावित परिवारको व्यवस्थापनका लागि सम्बन्धित निकायले काम गरिरहेको जनाइएको छ ।