शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सचेतना अभियान बढ्दै, तर सिन्धुलीमा रोकिएन यौन हिंसा

बिहिवार , आश्विन १, २०८३


सिन्धुली,०१ असोज – महिला तथा बालबालिकामाथि हुने यौन हिंसा न्यूनीकरणका लागि जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि सिन्धुलीमा जबरजस्ती करणीका घटनामा अपेक्षित कमी आउन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षको प्रहरी तथ्यांकले जिल्लामा यस्ता घटनाको जोखिम अझै कायम रहेको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको अवधिमा जिल्लामा ७६ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा २० वटा घटना प्रहरीमा पुगेका थिए । त्यसपछिको आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ३० पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा २६ वटा घटना दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २०८२/८३ मा घटना संख्या केही घटेको देखिए पनि समग्र अवस्था अझै चिन्ताजनक रहेको प्रहरी तथ्यांकले देखाउँछ । पछिल्लो वर्षको विवरणअनुसार प्रत्येक महिनाजसो यौन हिंसासँग सम्बन्धित घटना प्रहरीसम्म पुगेका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा साउन र भदौ महिनामा एक–एक वटा, असोजमा तीन वटा, कात्तिकमा एक वटा, मंसिरमा चार वटा, पुसमा एक वटा, माघमा एक वटा, फागुनमा तीन वटा, चैतमा एक वटा, वैशाखमा तीन वटा, जेठमा तीन वटा र असारमा चार वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् । उक्त वर्ष मंसिर र असार महिनामा सबैभन्दा बढी चार–चार वटा घटना देखिएका छन् ।

स्थानीय तहअनुसार हेर्दा आर्थिक वर्ष २०८२÷८३ मा कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा समान पाँच–पाँच वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् । त्यस्तै हरिहरपुरगढी, घ्याङलेख, सुनकोशी, गोलन्जोर र तीनपाटन गाउँपालिकामा दुई–दुई वटा तथा मरिण गाउँपालिकामा एउटा घटना दर्ता भएको प्रहरी विवरणमा उल्लेख छ । एउटा घटना भने अन्य जिल्लासँग सम्बन्धित रहेको जनाइएको छ ।

यौन हिंसा रोकथामका लागि जिल्लामा विद्यालय, समुदाय र विभिन्न संघसंस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । तर तथ्यांकले केवल सचेतना कार्यक्रमले मात्र समस्या समाधान गर्न नसकेको देखाएको छ । घटनाको प्रभावकारी रोकथामका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीचको समन्वय अझ बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

विशेषगरी बालबालिका तथा युवतीलाई सुरक्षित वातावरण उपलब्ध गराउने, समस्या खुलेर राख्न सक्ने अवस्था सिर्जना गर्ने तथा पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्ने विषयमा थप प्रभावकारी पहल आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

उपलब्ध विवरणअनुसार १८ देखि २५ वर्ष उमेर समूहका युवती तथा महिलाहरूका साथै बालबालिकाहरू यस्ता घटनाबाट प्रभावित हुने गरेका छन् । तर यस्ता घटनाको वास्तविक संख्या प्रहरीमा दर्ता भएका घटनाभन्दा बढी हुनसक्ने भएकाले सामाजिक रूपमा लुकेका घटनाको पहिचान र उजुरी प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता पनि देखिएको छ ।

घटनाको संवेदनशीलता र अनुसन्धान प्रक्रियाका कारण जिल्ला प्रहरी कार्यालयका प्रमुखले यस विषयमा विस्तृत प्रतिक्रिया दिन चाहेका छैनन् । प्रहरी अधिकारीहरू अनुसन्धान प्रभावित हुन सक्ने भन्दै यस्ता विषयमा सीमित धारणा मात्र सार्वजनिक गर्दै आएका छन् ।

तीन वर्षको अवधिमा ७६ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता हुनु सिन्धुलीका लागि गम्भीर सामाजिक चुनौतीका रूपमा देखिएको छ । अपराध भएपछि कानुनी कारबाही गर्ने प्रक्रियासँगै घटना हुन नदिने गरी रोकथाम, सुरक्षा व्यवस्था र सामाजिक सचेतनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । स्रोत सिन्धुली खवर

प्रतिक्रिया