सिन्धुली ,३१ भदौ – सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले सेवा–सुविधा, कर्मचारी व्यवस्थापन र वृत्ति विकाससँग सम्बन्धित विभिन्न माग राख्दै गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएका छन् ।
नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सीमित स्रोतसाधनका बीच निरन्तर खटिँदै आएका स्वास्थ्यकर्मीहरूको समस्या सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले १३ बुँदे मागसहित पत्र बुझाएका हुन् । स्वास्थ्यकर्मीहरूले पालिकाभित्र कार्यरत कर्मचारी व्यवस्थापनमा देखिएका कमजोरी, सरुवा प्रक्रियामा समस्या तथा सेवा प्रवाहमा परेको प्रभावबारे गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
ज्ञापनपत्रमा स्वास्थ्यकर्मीहरूले सेवा–सुविधाका विषयमा आवाज उठाएकै कारण स्वास्थ्य शाखा प्रमुखको अगुवाइमा पटक–पटक सरुवा गरिएको आरोप लगाएका छन् । उनीहरूले एक महिनाको अवधिमै दुई पटकसम्म सरुवा गरेर कर्मचारीलाई मानसिक दबाब दिने अवस्था सिर्जना गरिएको दाबी गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्य शाखा प्रमुखले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको र कर्मचारी व्यवस्थापन प्रभावकारी नहुँदा कतिपय स्वास्थ्य संस्थामा आधारभूत सेवा सञ्चालनमै कठिनाइ भएको उल्लेख गरेका छन् । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न पटक–पटक जानकारी गराउँदा समेत पर्याप्त पहल नभएको उनीहरूको गुनासो छ ।
गाउँपालिकालाई बुझाइएको मागपत्रमा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी कार्यसम्पादन क्षमता, दक्षता, अनुभव र प्रचलित नियमअनुसार योग्यताका आधारमा तोकिनुपर्ने माग गरिएको छ । यस्तै, स्वास्थ्यकर्मीको काज तथा सरुवा गर्दा तालिम, अनुभव, योग्यता, घरपायक अवस्था, दरबन्दी, तह र कार्यक्षमताका आधारमा पदस्थापन गर्नुपर्ने माग राखिएको छ ।
स्वास्थ्य संस्थाको स्वीकृत दरबन्दी संरचनाअनुसार तत्काल कर्मचारी व्यवस्थापन गर्नुपर्ने, स्थायी दरबन्दीअनुसार सरुवाका लागि आवश्यक सहमति लिनुपर्ने वा लोकसेवा आयोगमार्फत पदपूर्तिका लागि माग गर्नुपर्ने विषय पनि मागपत्रमा समेटिएको छ ।
त्यसैगरी, अतिरिक्त समयमा सेवा दिएका स्वास्थ्यकर्मीलाई नियमअनुसार सट्टा बिदा उपलब्ध गराउनुपर्ने वा सट्टा बिदा दिन नसकिएको अवस्थामा एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरिएको छ । स्वास्थ्य शाखा प्रमुखको आर्थिक वर्ष २०८२/८३ को भ्रमणसम्बन्धी सम्पूर्ण विवरण, भ्रमणको उद्देश्य, प्रतिवेदन तथा भ्रमण भत्ताको विवरण सार्वजनिक गर्न पनि स्वास्थ्यकर्मीहरूले माग गरेका छन् ।
स्वास्थ्य शाखाबाट खरिद गरिएका औषधि तथा स्वास्थ्य सामग्रीको खर्च विवरण, दाखिला प्रतिवेदन र हस्तान्तरणसम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने तथा प्रत्येक स्वास्थ्य संस्थालाई वार्षिक रूपमा कार्यालय सञ्चालन, मसलन्द र सञ्चार खर्च उपलब्ध गराउनुपर्ने मागसमेत राखिएको छ ।
स्वास्थ्यकर्मीहरूले आफ्ना माग सात दिनभित्र सम्बोधन गर्न गाउँपालिकासँग आग्रह गरेका छन् । माग पूरा नभए आगामी दिनमा थप संघर्षका कार्यक्रम घोषणा गरी सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीका सिनियर अहेव मदन विक्रम दाहालले पटक–पटक छलफल र माग राख्दा पनि समस्या समाधान नभएको बताए । उनले माग राखेकै आधारमा महिनामा दुई पटकसम्म सरुवा गर्ने कार्यले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित बनाएको दाबी गरे ।
दाहालले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेको भन्दै कर्मचारीका जायज मागबाट पन्छिन नमिल्ने बताउँदै समयमै समस्या समाधान गर्न गाउँपालिका नेतृत्वसँग आग्रह गरेका छन् । स्रोत : सिन्धुली खवर