शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बाढीपीडितका लागि सिद्धस्थली माविको सहयोग

बुधवार , भाद्र ३१, २०८३

सिन्धुली,३१ भदौ – रसुवाको केरुङ क्षेत्रस्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि सिन्धुलीको कमलामाई नगरपालिका–६ मा रहेको सिद्धस्थली अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ ।

विपद्बाट प्रभावित परिवारको सहयोगार्थ विद्यालयले विद्यार्थी, शिक्षक तथा संस्थागत तवरबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । बुधबार विद्यालयका प्रधानाध्यापक ओम प्रधानले रकम जम्मा गरिएको भौचर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।

विद्यालयका प्रधानाध्यापक प्रधानका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा उक्त रकम जम्मा गरिएको हो । राहत अभियानलाई थप सहयोग पु¥याउने उद्देश्यले विद्यालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय राहत कोषमा समेत १५ हजार रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए ।

विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक जिम्मेवारीको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै प्रधानाध्यापक प्रधानले विद्यालयको तर्फबाट मानवीय सहयोग गरिएको बताए । उनका अनुसार विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न क्षेत्रमा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । निःशुल्क स्वास्थ्य शिविर आयोजना, ऐतिहासिक सिन्धुलीगढी तथा विभिन्न धार्मिक स्थलमा सरसफाइ अभियान र मेला–पर्वमा स्वयंसेवक परिचालनलगायतका गतिविधि विद्यालयले गर्दै आएको उनको भनाइ छ ।

यसैबीच, रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि सिन्धुलीबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम संकलन हुने क्रम निरन्तर रहेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार बुधबारसम्म जिल्लाका विभिन्न विद्यालय, वित्तीय संस्था, सामाजिक संघसंस्था, सहकारी, सर्वसाधारण नागरिक तथा कैदीबन्दीसहित ६८ वटा संघसंस्थाबाट राहत कोषमा ४७ लाख ८६ हजार ४२३ रुपैयाँ जम्मा भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढी प्रभावितको सहयोगका लागि विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग अभियान अझै जारी रहेको जनाएको छ । विपद्को अवस्थामा जिल्लाका विभिन्न निकाय र समुदायबाट प्राप्त भइरहेको सहयोगले राहत कोषमा योगदान थपिँदै गएको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया