शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बेलारुस पठाउने भन्दै ९ लाख ठगी, सिन्धुलीका कार्की पक्राउ

बुधवार , भाद्र ३१, २०८३

काठमाडौं,३१ भदौ – वैदेशिक रोजगारीका लागि बेलारुस पठाइदिने भन्दै बेरोजगार युवालाई आकर्षक तलबको आश्वासन दिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका नाममा रकम लिएर लामो समयसम्म पीडितलाई झुक्यानमा राखी विदेश नपठाउने र पछि सम्पर्कविहीन हुने व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रहरीका अनुसार बेलारुस पठाइदिने भन्दै रकम लिएर ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–११ बस्दै आएका ५२ वर्षीय विरेन्द्र बहादुर कार्कीलाई पक्राउ गरिएको हो ।

कार्कीलाई काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सिनामंगल क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार पक्राउ परेका कार्कीमाथि बेलारुसमा रोजगारी लगाइदिने भन्दै एक जना पीडितबाट ९ लाख रुपैयाँ रकम लिएको आरोप छ ।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र प्रारम्भिक अनुसन्धानबाट वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल गरी प्रतिबद्धता पूरा नगरेको तथ्य खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उक्त घटनाबारे जानकारी दिएका हुन् । प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन श्रम स्वीकृति, म्यानपावर कम्पनी तथा सम्बन्धित व्यक्तिको आधिकारिक विवरण पुष्टि गरेर मात्र आर्थिक कारोबार गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया