रामेछाप,२९ भदौ – रामेछापमा नसालु पदार्थ सेवन गराई महिलालाई बेहोस बनाएर सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चोरी गरिएका सुनका गहना खरिद गरेको आरोपमा एक सुन पसल सञ्चालकसमेत प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६, नौरीकी ५४ वर्षीया विभा माझीलाई गत भदौ २४ गते दिउँसो एक अपरिचित महिलाले नसालु पदार्थ सेवन गराई बेहोस बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । बेहोस अवस्थामा पुगेपछि उनको कानमा लगाएको सक्कली सुनको बेरुवा रिङ निकालेर त्यसको स्थानमा नक्कली गहना राखिएको र आरोपित महिला घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै शंकास्पद क्षेत्रका सीसीटीभी फुटेज तथा अन्य प्रमाणको अध्ययन गरेको थियो। प्राप्त विवरण र अनुसन्धानबाट चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ का ३६ वर्षीय सीताराम लोहार र गोकुलगंगा गाउँपालिका–२, दोर्जेकी ५३ वर्षीया मैया कार्की रहेका छन् । लोहार मन्थलीमा सञ्चालनमा रहेको न्यू सनराईज ज्वलर्सका सञ्चालक हुन् ।
अनुसन्धानका क्रममा प्रहरीले लोहारको सुन पसलबाट पीडित विभा माझीको कानबाट निकालिएको १४ लाल १ प्वाइन्ट तौलका दुई थान सुनका बेरुवा रिङ बरामद गरेको जनाएको छ । त्यस्तै, कार्कीको घरबाट पहेंलो रङको धातुबाट बनेका बेरुवा रिङ दुई थान, औँठी एक थान, फुली दुई थान, कीप्याड मोबाइल चार थान तथा नगद ७ हजार ३ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको भनिएको कालो रङको ‘क्याट’ लेखिएको झोला, गाढा रातो ज्याकेट र रातो कुर्ता–सुरुवालसमेत बरामद गरेको जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।