शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हरितालिका तीजमा सिन्धुलीका शिवालयमा उम्लियो आस्थाको भीड

सोमवार , भाद्र २९, २०८३

सिन्धुली,२९ भदौ – हिन्दू महिलाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा सिन्धुली जिल्लाका विभिन्न शिवालयहरूमा सोमबार बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको थियो । विशेषगरी व्रत बसेका महिला श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्रीसहित शिव मन्दिर पुगेपछि जिल्लाका प्रमुख धार्मिक स्थलहरूमा तीजको उल्लाससँगै धार्मिक वातावरण बनेको हो ।

हरितालिका तीजका अवसरमा निराहार तथा निर्जल व्रत बसेका महिलाहरूले भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गर्दै आफ्नो परिवारको सुख, शान्ति, समृद्धि र दीर्घ जीवनको कामना गरेका छन् । परम्पराअनुसार विवाहित महिलाहरूले आफ्ना श्रीमान्को सुस्वास्थ्य, दीर्घायु तथा पारिवारिक कल्याणको कामना गर्दै व्रत बसेका छन् भने अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामनासहित भगवान् शिवको आराधना गरेका छन् ।

जिल्लाका प्रसिद्ध धार्मिकस्थलहरू आदिलिङ्गेश्वर, कुशेश्वर महादेव, दुम्जास्थित महादेव मन्दिर, बैकटेश्वर महादेव बाहुनतिल्पुङ, रामेश्वरधाम सिन्धुली, मधुगंगा, सुलिभञ्ज्याङ महादेव ,लगायतका शिवालयमा बिहानैदेखि पूजा गर्ने भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । रातो, हरियो तथा विभिन्न रङका तीजका पहिरनमा सजिएका महिलाहरू समूह–समूहमा मन्दिर पुगेका थिए ।

शिवालय पुगेका श्रद्धालुहरूले भगवान् शिवलाई बेलपत्र, फूल, अक्षता, धूप, दीप तथा फलफूल अर्पण गर्दै श्रद्धापूर्वक पूजा गरेका थिए । धार्मिक विश्वासअनुसार तीजको दिन गरिने पूजा र व्रतले पारिवारिक सुख, वैवाहिक जीवनको स्थायित्व तथा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ ।

धार्मिक अनुष्ठानसँगै शिवालय परिसरमा तीज गीत, नाचगान र सांस्कृतिक गतिविधिले समेत पर्वको वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो । विभिन्न समूहमा भेला भएका महिलाहरूले परम्परागत तथा आधुनिक तीज गीतमा नाच्दै आपसी भेटघाट, शुभकामना आदान–प्रदान र सांस्कृतिक पहिचानलाई निरन्तरता दिएका थिए ।

तीज केवल धार्मिक आस्थाको पर्व मात्र नभई महिलाहरूबीच सामाजिक सम्बन्ध विस्तार गर्ने, आपसी सद्भाव बढाउने र सांस्कृतिक परम्पराको संरक्षण गर्ने अवसरका रूपमा समेत स्थापित हुँदै गएको सहभागी महिलाहरूले बताएका छन् । पर्वले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पु¥याएको उनीहरूको भनाइ छ ।

शिवालयहरूमा भक्तजनको संख्या बढेसँगै पूजा व्यवस्थापन, भीड नियन्त्रण र सुरक्षाका लागि स्थानीय मन्दिर व्यवस्थापन समिति तथा सम्बन्धित निकायहरू सक्रिय भएका छन् । भक्तजनलाई सहज रूपमा पूजा गर्ने वातावरण मिलाउन आवश्यक व्यवस्थापन गरिएको बताइएको छ ।

दिनभर जिल्लाका विभिन्न शिवालयहरूमा पूजा–अर्चना, दर्शन तथा धार्मिक गतिविधि सञ्चालन हुने अपेक्षा गरिएको छ । परम्परा, आस्था र संस्कृतिसँग जोडिएको हरितालिका तीज नेपाली हिन्दू महिलाहरूले प्रत्येक वर्ष विशेष श्रद्धा र उत्साहका साथ मनाउँदै आएका छन् । यस वर्ष पनि सिन्धुलीका शिवालयहरूमा देखिएको भक्तजनको उपस्थिति र सांस्कृतिक गतिविधिले पर्वको महत्वलाई थप उजागर गरेको छ ।

प्रतिक्रिया