काठमाडौं ,२९ भदौ— काठमाडौं महानगरपालिका–१४ लिगमार्गबाट प्रहरीले ४० दशमलव ९२ ग्राम खैरो हेरोइनजस्तो देखिने लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आइतबार बिहान करिब १०ः३० बजे लिगमार्ग क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट लागू औषधसँगै कारोबारमा प्रयोग भएको आशंका गरिएका सामग्रीसमेत बरामद गरिएको छ । बरामद सामग्रीमा तीन थान मोबाइल, दुई थान डिजिटल मेसिन, गोलो आकारमा काटिएको प्लाष्टिक ५८ थान, दुई थान कैँची तथा ८८ हजार रुपैयाँ नेपाली नगद रहेका छन् ।
पक्राउ परेकाहरूलाई लागू औषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–११ घर भई हाल काठमाडौंको लिगमार्ग बस्ने २७ वर्षीय विपिन श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–३ घर भई काठमाडौंको वनस्थली बस्ने २० वर्षीय प्रकाश गैरे, लमजुङको राइनास नगरपालिका–७ घर भई काठमाडौंको जोरपाटी बस्ने २९ वर्षीय युसुद मियाँ र चितवनको भरतपुर महानगरपालिका–१६ घर भई काठमाडौंको ओमबहाल बस्ने ३२ वर्षीय महोमद गुफान रहेका छन् ।
लागू औषधको अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाउँदै आएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको सम्भावित सञ्जाल, कारोबारको प्रकृति र अन्य संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।