शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध अख्तियारको मुद्दा

सोमवार , भाद्र २९, २०८३

काठमाडौँ,२९ भदौ – सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ तह) भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरी अनावश्यक दुःख दिएको जनाएको छ । आयोगका अनुसार पौडेलले नियतपूर्वक काममा ढिलाइ गर्दै बदनियतपूर्ण रूपमा घुस रकम लिएको अवस्थामा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ । सोही आधारमा आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार पौडेलविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय तथा सोही ऐनको व्यवस्थाअनुसार बिगो बराबर जरिवाना सजायको मागदाबी गरिएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीबाट घुस रकम लिएको अभियोगमा पौडेलविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया