काठमाडौँ,२९ भदौ – सामाजिक सञ्जालको माध्यम प्रयोग गरी वेश्यागमनसम्बन्धी प्रचारात्मक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन् ।
प्रहरीका अनुसार लामालाई भदौ २७ गते नियन्त्रणमा लिइएको हो । उनीमाथि वेश्यागमनको प्रचार गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा लामाले सामाजिक सञ्जालमा विभिन्न भिडियो सामग्री पोस्ट गर्दै निश्चित रकममा युवती उपलब्ध गराउने आशयका प्रचारात्मक सामग्री बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले ‘केटी मिलाइदिन्छु’ भन्ने शैलीका भिडियो निर्माण गरी सार्वजनिक गरेको आरोप छ ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीको अध्ययन तथा प्राविधिक अनुसन्धानका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । भिडियोमा देखाइएको स्वरूपभन्दा फरक हुलिया बनाएर हिँडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानबाट खुल्दै जाने जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी गैरकानुनी गतिविधिको प्रचार–प्रसार गर्ने कार्यमाथि निगरानी बढाइएको पनि प्रहरीले जनाएको छ ।