शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली बहुमुखी क्याम्पसमा परीक्षा व्यवस्थापनमाथि प्रश्न

आइतवार , भाद्र २८, २०८३

सिन्धुली,२८ भदौ – सिन्धुली बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीएड दोस्रो वर्षको आंशिक परीक्षामा प्रश्नपत्र सुरुमै बाहिरिएको आशंका उत्पन्न भएको छ । परीक्षा सुरु भएको करिब १० मिनेटमै स्ववियु सचिव विष्णु पाण्डे चिटसहित परीक्षा हलमा प्रवेश गरेपछि परीक्षा प्रणालीमाथि प्रश्न उठेको हो ।

परीक्षाको प्रारम्भिक २० मिनेटमा सञ्चालन हुने २० अंकको वस्तुगत प्रश्नपत्र वितरण गरिएको थियो । सोही क्रममा पाण्डे सानो कागजमा लेखिएको सामग्री लिएर परीक्षा कक्षमा पुगेको र केही समय परीक्षा निरीक्षक नभएको मौका पारी एक जना परीक्षार्थीलाई उक्त सामग्री उपलब्ध गराएको अन्य परीक्षार्थीले बताएका छन् ।

त्यसपछि परीक्षा निरीक्षक तथा सहायक क्याम्पस प्रमुख उमेश कोइराला परीक्षा कक्षमा पुग्दा चिट फेला परेको र खोसेर नष्ट गरिएको बताइएको छ । कोइरालाका अनुसार आफू बाहिर रहेको समयमा अनधिकृत रूपमा कोही व्यक्ति परीक्षा कक्षमा प्रवेश गरेको आशंका भएपछि वस्तुगत परीक्षा चलिरहेकै बेला अनुगमन गर्दा उक्त सामग्री भेटिएको हो ।

वस्तुगत परीक्षा समाप्त भएपछि मात्रै अर्को प्रश्नपत्र वितरण गर्ने व्यवस्था रहेको हुन्छ । वस्तुगत परीक्षा जारी रहँदा उत्तर लेखिएको चिट परीक्षा हलभित्र पुग्नुले प्रश्नपत्र बाहिरिएको हुनसक्ने आधार देखिएको छ । यद्यपि, क्याम्पस प्रशासनले प्रश्नपत्र क्याम्पसबाट बाहिरिएको सम्भावना अस्वीकार गर्दै मोबाइल वा अन्य माध्यमबाट सामग्री बाहिरिएको हुनसक्ने जनाएको छ । जफत गरिएको चिटमा के लेखिएको थियो भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

स्ववियु सचिव विष्णु पाण्डेले भने क्याम्पस प्रमुखको अनुमतिमा आफूहरू परीक्षा अनुगमनका लागि परीक्षा हलमा जाने गरेको दाबी गरेका छन् । क्याम्पसको प्रतिष्ठा जोगाउन र परीक्षामा अनियमितता हुन नदिन अनुगमन गर्ने गरेको उनको भनाइ छ । पाण्डे माओवादी निकट अखिल क्रान्तिकारीबाट स्ववियु सचिवमा निर्वाचित भएका हुन् ।

क्याम्पस प्रमुख दुर्गा अधिकारीले पनि आफ्नो रोहवरमा स्ववियु प्रतिनिधिलाई परीक्षा हलमा लैजाने गरिएको स्वीकार गरेका छन् । तर, त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार परीक्षा हलभित्र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा तोकिएका कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेश अनुमति हुँदैन ।

यसअघि पनि स्ववियु प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्ने गरेको गुनासो आउने गरे पनि प्रमाणित हुन सकेको थिएन । यसपटक भने स्ववियु सचिव चिटसहित परीक्षा कक्षमा पुगेको र परीक्षा निरीक्षकले सामग्री नियन्त्रणमा लिएको विषय बाहिर आएको हो ।

घटनाले परीक्षा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । प्रश्नपत्र कसरी बाहिरियो, चिटमा के सामग्री थियो र उक्त सामग्री परीक्षा हलसम्म कसरी पुग्यो भन्ने विषयमा सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ । स्रोत सिन्धुली मंसिर चार

प्रतिक्रिया