सिन्धुली,२८ भदौ – सिन्धुलीमा सञ्चालन गरिएको दुईदिने निःशुल्क बृहत् आँखा अपरेसन आइतवार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाअन्तर्गत रहेको सामुदायिक आँखा उपचार केन्द्रको आयोजनामा सञ्चालन भएको शिविरमार्फत मोतिबिन्दु भएका ४९ जना बिरामीको सफल निःशुल्क शल्यक्रिया गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको विशेष पहलमा सम्पन्न शिविरले आर्थिक तथा भौगोलिक कठिनाइका कारण नियमित आँखा उपचार सेवाबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराएको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रियासँगै विभिन्न प्रकारका आँखा समस्याबाट प्रभावित बिरामीको परीक्षण, परामर्श तथा उपचारसमेत गरिएको आयोजकले जनाएको छ ।
शिविर सञ्चालनका लागि जानकी आँखा अस्पताल, जनकपुर धनुषाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, द फ्रेड हलोज फाउन्डेसन र अस्ट्रेलियन एडको महत्वपूर्ण आर्थिक तथा व्यवस्थापकीय सहयोग रहेको थियो । विभिन्न संस्थाको समन्वय र सहकार्यमा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
शिविरमा मोतिबिन्दुबाहेक अन्य आँखा रोग भएका बिरामीहरूको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणपछि आवश्यकताअनुसार नामदर्ता, औषधि तथा चस्माको व्यवस्था मिलाइएको आयोजक सिन्धुली रेडक्रसले जानकारी दिएको छ । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले प्रदान गरेको सेवाबाट सिन्धुली जिल्ला तथा आसपासका क्षेत्रका सेवाग्राही लाभान्वित भएका छन् ।
कार्यक्रममा चिकित्सकीय सेवा प्रदान गर्ने प्राविधिक टोलीको नेतृत्व डा. आशिष बोहरासहितको टोलीले गरेको थियो । आयोजक सिन्धुली रेडक्रसले डा. बोहरा नेतृत्वको स्वास्थ्यकर्मी टोलीप्रति सम्मान व्यक्त गर्दै शिविर सफल बनाउन योगदान पु¥याउने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।
शिविर अवधिभर बिरामी तथा सेवाग्राहीलाई सहयोग पु¥याउने उद्देश्यले दूध र बिस्कुट वितरण गर्ने महिला पतञ्जली योग समिति सिन्धुली परिवारप्रति समेत आयोजकले आभार व्यक्त गरेको छ । साथै, आँखा अपरेसन कार्यक्रमको व्यवस्थापन, समन्वय र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण स्वयंसेवक तथा कर्मचारीहरूको योगदानको प्रशंसा गरिएको छ ।
आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता स्वास्थ्य शिविरले विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ । सिन्धुलीमा सम्पन्न यस शिविरले उपचारको अभावमा दृष्टि समस्यासँग जुधिरहेका नागरिकलाई पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग गरेको छ ।