सिन्धुली,२८ भदौ – सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्जाङमा लामो समयदेखि जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा १५ जना पक्राउ परेको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीले एक लाख ५५ हजार रुपैयाँ नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खोरभञ्जाङस्थित स्थानीय लोकबहादुर तामाङको घरमा तास खेल भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा विशेष टोली परिचालन गरिएको थियो । शनिबार दिउँसो करिब ३ बजे प्रहरी टोलीले घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा १५ जनालाई फेला पारेको थियो ।
कारबाहीका क्रममा प्रहरीले नगद एक लाख ५५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान तथा घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ । जुवाताससम्बन्धी गतिविधि नियन्त्रण गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले बताए ।
नेपालको प्रचलित कानुनअनुसार जुवा खेल्ने तथा खेलाउने कार्य दण्डनीय अपराध मानिन्छ । यस्तो गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाही गरिने व्यवस्था रहेको छ । प्रहरीले सार्वजनिक स्थान वा निजी घरमा हुने अवैध जुवाजन्य गतिविधिबारे सूचना उपलब्ध गराउनसमेत आग्रह गर्दै आएको छ ।