सिन्धुली,२७ भदौ – सिन्धुलीको मरिण गाउँपालिका–४ साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको संयुक्त टोलीले अनुगमन तथा छापा कारबाही गरेको छ । उद्योगमा कार्यरत विदेशी कामदारहरूको कानुनी हैसियत र आवश्यक अनुमति सम्बन्धी कागजात जाँच गर्ने क्रममा केही चिनियाँ नागरिकहरू नेपालमा काम गर्ने अनुमति बिना नै कार्यरत रहेको तथ्य बाहिर आएको हो ।
उद्योगमा ठूलो संख्यामा चिनियाँ कामदारहरू कार्यरत रहेको सूचनाका आधारमा पुगेको टोलीले उद्योग प्रशासनसँग कामदारहरूको विवरण, श्रम स्वीकृति तथा काम गर्ने अनुमति सम्बन्धी कागजात माग गरेको थियो । प्रारम्भिक जाँचका क्रममा अधिकांश चिनियाँ नागरिकहरू पर्यटक भिसामा नेपाल आएर काम गरिरहेको पाइएको स्रोतले जनाएको छ । नेपालमा पर्यटक भिसामा आएर रोजगारीमा संलग्न हुन कानुनी व्यवस्था छैन ।
निर्माणाधीन उद्योगमा पाँच सयभन्दा बढी चिनियाँ कामदार रहेको बताइएको छ । तीमध्ये धेरैजसोले पर्यटक भिसाको प्रयोग गरेर काम गरिरहेको आशंका गरिएको छ । अनुगमनका क्रममा केही चिनियाँ नागरिकहरूको राहदानी र विवरण अध्यागमन टोलीले संकलन गरेको जनाइएको छ । चिनियाँ कम्पनीका प्रतिनिधिले कामदारहरूको राहदानी काठमाडौंस्थित कम्पनी कार्यालयमा रहेको जानकारी दिएपछि टोलीले सम्बन्धित व्यक्तिहरूको नाम विवरण संकलन गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।
उद्योगमा विदेशी कामदारको व्यवस्थापन, स्थानीय श्रमिकको सहभागिता र सञ्चालन प्रक्रियाबारे यसअघि पनि विवाद हुँदै आएको थियो । नेपाली र चिनियाँ कामदारबीच यसअघि विवाद तथा झडपसमेत भएको थियो । स्थानीय स्तरमा चिनियाँ कामदारबाट नेपाली श्रमिकहरू हेपिएको र कामदार छनोट प्रक्रियामा राजनीतिक प्रभाव बढेको आरोप लाग्दै आएको थियो ।
उद्योग सञ्चालनमा नआउँदै व्यवस्थापन, जग्गा प्राप्ति प्रक्रिया र राजनीतिक प्रभावका विषयमा विभिन्न प्रश्न उठ्दै आएका छन् । स्थानीय तहमा केही व्यक्तिहरूले उद्योग स्थापनाको नाममा आर्थिक लाभ लिएको आरोपसमेत लगाउँदै आएका छन् । यद्यपि ती आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
स्थानीयवासीहरूले ठूलो लगानीको उद्योगमा स्थानीय युवालाई प्राथमिकता दिनुपर्नेमा अनुमति बिना विदेशी कामदार ल्याएर काम गराइएको विषयमा प्रश्न उठाएका छन् । उद्योग प्रशासनले निर्माण कम्पनीलाई विदेशी कामदार व्यवस्थापनका लागि कसरी अनुमति दियो भन्ने विषयमा समेत अनुसन्धान आवश्यक देखिएको छ ।
अनुगमनपछि अध्यागमन विभागले गैरकानुनी रूपमा नेपालमा बसोबास वा काम गरिरहेका विदेशी नागरिकको विषयमा थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। छापा र कागजात नियन्त्रणपछि उद्योग व्यवस्थापन पक्षमा समेत चासो बढेको छ ।
यस घटनाबारे काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको बताइएको छ। स्रोतका अनुसार घटनाको वास्तविक अवस्था बुझ्न चिनियाँ दूतावासको टोली सिन्धुली आउने तयारीमा रहेको छ ।
यता, प्रतिनिधिसभा निर्वाचनका क्रममा उक्त मासु प्रशोधन उद्योग आफ्नो पहलमा ल्याएको भन्दै प्रचार गर्दै आएका केही राजनीतिक व्यक्तिहरूको भूमिकामाथि पनि स्थानीय स्तरमा चर्चा भइरहेको छ । उद्योग सञ्चालनअघि नै विवादमा परेको यो परियोजनाले अब कानुनी प्रक्रिया, विदेशी कामदार व्यवस्थापन र प्रशासनिक निगरानीका विषयमा थप चुनौती सामना गर्नुपर्ने देखिएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय, सशस्त्र प्रहरी बल सिन्धुली बेसबाट संयुक्त टोलीले अनुगमन गर्दा उद्योग परिसरमा अबैध तरिकाले बिक्री वितरणका लागि लुकाएर राखिएको ठूलो परिमाणको मदिरासमेत नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिवार भएको अनुगमनका क्रममा बोरा तथा त्रिपालले छोपेर राखिएको अवैध मदिरा बरामद गरिएको हो ।
बरामद सामग्रीमा गोर्खा बियर १५ कार्टुन र खुला ३९ बोतल, टाइगर बियर ६ कार्टुन तथा खुला ७५ बोतल, लियोपार्ड बियर एक कार्टुनसहित खुला ठूला १५ बोतल र साना ६५ बोतल तथा जोमसोम बियर एक कार्टुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद मदिरा कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने तयारी गरिएको छ ।